कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ आउदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका-९ वेलनदीमा आइतबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो।
प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिँदा सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए।
अन्य २१ जना यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोली तुरुन्त घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्