काठमाडौं : साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ ।
चार राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता डबल राउन्ड रोबिन लिग फर्म्याटमा हुँदैछ, जसअनुसार सबै टोलीले एक–अर्काविरुद्ध दुईपटक खेल्नेछन्।
प्रतियोगिता सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उपाधिको लक्ष्यसहित मैदान उत्रिने बताएका छन्।
‘हामीले राम्रो तयारी गरेका छौं। यहाँ सबै टिम बलियो छन्, तर हामी जित्न भनेर आएका हौं र जित्छौं पनि’ गुरुङले भने। साथै उनले यू–२० टोलीको प्रदर्शनले भविष्यमा सिनियर राष्ट्रिय टोलीका लागि पनि बलियो ब्याकअप तयार गर्ने विश्वास व्यक्त गरे।
गुरुङले दुई वर्षअघि नेपालले बंगलादेशसँग फाइनलमा गुमाएको उपाधि सम्झिँदै यसपटक नतिजा उल्टाउने अवसर रहेको बताए।
नेपालले यसपछि १३ जुलाईमा बंगलादेश, १५ र १७ जुलाईमा श्रीलंका, १९ जुलाईमा पुनः भुटान र अन्तिम खेल २१ जुलाईमा आयोजक बंगलादेशसँग खेल्नेछ।
साफ यू–२० च्याम्पियनसिपलाई एएफसी यू–२० महिला एसियन कप छनोटको तयारीको अवसरका रूपमा पनि हेरिएको छ।
नेपाली टोली : बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर।
प्रतिक्रिया दिनुहोस्