काठमाडौं : आज, जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, विश्वको जनसङ्ख्या १ अर्ब पुग्न लाखौँ वर्ष लागेको थियो, तर त्यसपछिको २०० वर्षमै यो सात गुणाले बढेको छ। सन् २०११ मा विश्वको जनसङ्ख्या ७ अर्ब पुगेकोमा २०२१ मा यो ७ अर्ब ९० करोड पुगेको थियो।
जनसङ्ख्या निरन्तर बढिरहेको छ। सन् २०३० मा ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ। जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको अध्ययनले देखाएको छ।
विगतको तुलनामा वर्तमानमा प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका छन्। अध्ययनको निष्कर्षअनुसार, यसका मुख्य कारणहरूमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा र आवासजस्ता आधारभूत आवश्यकताहरू रहेका छन्।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले १४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणले पनि यो तथ्यलाई पुष्टि गर्छ। सर्वेक्षणअनुसार, प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको प्रमुख कारणहरूमा बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य चिन्ता, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षति लाई मानेका छन्।
यस दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन्। उनले जारी गरेको सन्देशमा दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि युवाका अधिकारको समर्थन आवश्यक रहेको बताएका छन्। यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा ’युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने’ भन्ने रहेको छ।
प्रतिक्रिया दिनुहोस्