धनगढी : यस वर्षको रोपाइँ कैलालीमा सम्पन्न भएको छ । जेठ अन्तिमतिरबाट किसानले रोपाइँ थालेका थिए । असार अन्तिमतिर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
गएको आइतबार नै जिल्लामा लगभग सबैतिर रोपाइँ सकिएको केन्द्रका प्रमुख टेक विष्टले बताए । उहाँले गतविगतको तुलनामा अचेल चाँडै रोपाइँ सकिने गरेको उल्लेख गरे । रोपाइँ सकिएपछि खेत हरियालीमा परिणत हुन थालेको छ ।
कृषि उर्वर भूमि मानिने कैलालीमा ९१ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ । जसमध्ये यसवर्ष ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष यहाँ प्रति हेक्टरमा ३४ मेट्रिकटनको दरले धान फलेको थियो । यसवर्ष उत्पादन केहि हदसम्म बढ्ने सम्भावना रहेको जनाइएको छ ।
जिल्लामा गतविगतको तुलनामा अगाडि नै धान रोपाइँको काम पूरा भइरहेको कृषि ज्ञान केन्द्र प्रमुख विष्टले बताए । उनले भने, “बूढापाकाहरुलाई सोध्दा पहिले पहिले साउन १५ गतेसम्म धान रोपाइँ भएको बताए । अहिले विभिन्न सिँचाइ सुविधाहरु छन् । त्यसकारण किसानले अलि चाँडै रोपाइँ सम्पन्न गर्दै आएका छन् । यसलाई कृषिमा एक हिसाबले फड्को मारेको मान्न सकिन्छ ।”
मलका लागि तछाडमछाड
रोपाइँ सकिएपछि किसान रासायनिक मलको जोहोमा दगुर्न थालेका छन् । मल अभावका कारण मल पुगेको सहकारीमा उनीहरुको तछाडमछाड भइरहेको छ ।
युरियाका लागि जिल्लाको कैलारी गाउँपालिका–७ स्थित हरियाली कृषि समूहमा बुधबार बिहानैदेखि किसानको लाइन लागेको थियो । युरिया पाउन मुस्किल रहेकाले सहकारीमा बिहानैदेखि किसान मलको पर्खाइमा लाइनमा बसेको स्थानीय लालुराम चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्