काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्र तथा पहाडी इलाकामा बाढी, पहिरो र गेग्रान बहावको उच्च जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा नै रहेकाले जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षाको सम्भावना बढेको हो । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
लगातारको वर्षा र थप भारी वर्षाको सम्भावनाले पहाडी क्षेत्रमा भूक्षय र पहिरो तथा तराईमा बाढी र डुबानको जोखिम बढाएको छ । महाशाखाले नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने, यातायात क्षेत्र प्रभावित हुन सक्ने तथा दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी र सावधानी अपनाउन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्