काठमाडौं : अमेरिकाकाे टेक्सासमा आएको विनाशकारी बाढीले ज्यान गुमाउनेको संख्या एक सय नाघेको पुष्टि भएको छ । भारी वर्षापछि आएको बाढीका कारण सयौं घर डुबानमा परेका छन् । उद्धारकर्मीले अझै पनि बगाइएका व्यक्तिको खोजी जारी राखेका छन् ।
सबैभन्दा ठूलो क्षति नदी किनारमा रहेको एक युवा ग्रीष्मकालीन शिविरमा भएको हो, जहाँ ४ जुलाईको सार्वजनिक बिदाका बेला २७ जना बालबालिका र सल्लाहकारको मृत्यु भएको जनाइएको छ । उनीहरू बाढीको चपेटामा पर्नुअघि शिविरमै बसेका थिए ।
अमेरिकी मौसमविद्हरूले जलमग्न जमिनमा अझै थप वर्षाको सम्भावना औँल्याउँदै पुनः बाढीको जोखिम रहेको चेतावनी दिएका छन् । मौसम प्रतिकूल भएकाले करिब १,७५० जना उद्धारकर्मी, हेलिकप्टर, डुङ्गा र तालिम प्राप्त कुकुरहरूको सहायतामा भइरहेको खोज तथा उद्धार कार्य थप जटिल बनिरहेको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले सोमबार विज्ञप्ति जारी गर्दै ‘अझै पनि बाढी निम्त्याउने सम्भावनासहित भारी वर्षाको खतरा कायमै छ’ भन्दै जनतालाई सतर्क रहन आग्रह गरेका छन् । गभर्नरका अनुसार मृतक र प्रभावितहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेक्सासको भ्रमण गर्ने कार्यक्रम तय गरेका छन् । उनमाथि केही आलोचकहरूले पूर्वतयारीका निकायहरूमा गरिएको बजेट कटौतीले चेतावनी प्रणाली कमजोर बनाएको आरोप लगाएका छन् । तर, प्रेस सचिव क्यारोलिन लेभिटले त्यसलाई खारेज गर्दै भनिन्, ‘राष्ट्रपति ट्रम्पलाई दोष दिनु यो राष्ट्रिय शोकको समयमा कुनै उद्देश्य पुरा गर्दैन ।’
राष्ट्रपति ट्रम्पले बाढीलाई ‘एक सय वर्षमा एक पटक मात्र आउने प्रकोप’ भन्दै यसलाई ‘पूर्वानुमान बाहिरको विपद्’ को संज्ञा दिएका छन् । उनले संघीय सरकारमार्फत तत्काल राहत कोष खोल्न निर्देशन दिँदै प्रमुख विपद् घोषणामा हस्ताक्षरसमेत गरिसकेका छन्, जसले राज्यलाई थप स्रोत परिचालन गर्न मद्दत गर्नेछ । यस विनाशकारी प्रकोपले टेक्सासलाई गहिरो संकटमा पार्दै राष्ट्रलाई पनि शोकमग्न बनाएको छ ।
प्रतिक्रिया दनुहोस्