काठमाडौँ : देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै बाढीपहिरो तथा भू-क्षयबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान नजिकै रहेकाले जलवाष्पयुक्त हावाको प्रभाव देशभरि देखिएको हो । यसैको असरले बिहानैदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहेको छ भने केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरकै मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशहरूका पहाडी भूभागका केही स्थानका साथै अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहनेछ । यीमध्ये कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको पूर्वानुमान गरिएका प्रदेशहरूमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्र तथा पहाडी सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ । वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट बच्न आवश्यक पूर्वतयारी गर्न र सजग रहन सर्वसाधारणलाई सूचित गरिएको छ ।
प्रतिक्रिया दनुहोस्