काठमाडौं : नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।
संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।
‘ह्याचरी व्यवसाय चल्लाको परल मूल्यभन्दा पनि निकै तल ओर्लिएर बिक्री गर्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यही अवस्थालाई सन्तुलन गर्नका लागि हामीले एक साताका लागि बन्द गर्न लागेका हौं ।’
उनले एक साता बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको बताए ।
उनका अनुसार, अहिले बोइलर फार्मिङ गर्ने किसान ६ सय हाराहारी छन् । २ वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा ३ सय ५० बढी फर्म आबद्ध थिए । तर, अहिलेसम्म आइपुग्दा १ सयभन्दा पनि कम मात्रै आबद्ध रहेको उनी बताउँछन् ।
‘अहिलेसम्म आइपुग्दा धेरै किसान यस क्षेत्रबाट पलायन भइसकेका छन्,’ उनी भन्छन्, ‘अर्को, अहिले चल्ला उत्पादनको माग नै कम भएर गइरहेको छ । हाम्रो खुला सिमानाका कारण निर्वाध रूपमा चोरी पैठारी भएर आउने चल्ला, कुखुरा र कुखुराको मासु ठूलो समस्याका रूपमा देखापरेको छ ।’
नेपालमा अहिलेको बजार माग प्रतिसाता २० देखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने प्रतिसाता ३० देखि ३५ लाख रहेको उनी बताउँछन् ।
‘अहिले हाम्रो उत्पादन प्रतिसाता ३० देखि ३५ लाखभन्दा बढी छ,’ उनी भन्छन्, ‘मागभन्दा बढी उत्पादन भएका कारण एक सातालाई चल्ला उत्पादन नगर्न सबै उद्यमीको सहमतिमा निर्णय भएको हो ।’
चल्ला बिक्री नहुँदा उत्पादक दानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । त्यसमा पनि किसान बैंकको ब्याज समेत तिर्न हम्मे परिरहेको उनको भनाइ छ ।
दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो । अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेको उनले बताए । यति उत्पादन बिक्री गर्न निकै गाह्रो परेको उनले बताए । उत्पादित चल्लाको माग नभएपछि ह्याचरी उद्योगहरू विस्थापित हुँदै गएको उनले बताए ।
प्रतिक्रिया दनुहोस्