काठमाडौं : विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ जनाको विषयमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, लोक सेवा आयोगका अध्यक्ष लगायतको नियुक्तिसम्बन्धि विवादमा सर्वाेच्चको संवैधानिक इजलासले फैसला सुनाउन लागेको हो।
गत २८ जेठमै फैसला सुनाउन मिति तोकिएको थियो। तर, अध्ययनका लागि समय नपुगेको भन्दै तीन साता सारिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले यो मुद्दामा फैसला सुनाउनेछ । सो इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
यो इजलासले यसससम्बन्धि मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैत तथा ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेको गणपूरक संख्याको व्यवस्था संशोधन गरी दुईपटक तत्कालीन सरकारले विभिन्न संवैधानिक पदमा ५८ नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती अध्यादेश जारी गरेकी थिइन् । ०७७ मंसिर ३० मा अध्यादेश ल्याई ३८ जनाको नाम सिफारिस गरिएको थियो । यसैगरी ०७८ वैशाख २१ मा पनि यस्तै अध्यादेश ल्याइयो र विभिन्न पदमा २० जनाको नाम सिफारिस गरियो । दुवैपटकका नियुक्तिविरुद्ध परेका रिटहरूमा एकैपटक फैसला आउने भएको छ ।
प्रतिक्रिया दनुहोस्