धनगढी : सोमबार बिहान कञ्चनपुर र कैलाली जिल्लामा भारी वर्षा पछि बाढीको जोखिम उच्च बनेको छ । पछिल्ला केही घण्टादेखि लगातार वर्षा भइरहेकाले महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका अधिकांश स्थानमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । खासगरी कृष्णपुरको खल्लागोठ र बेलौरीको शान्तिपुर आसपासका क्षेत्रहरूमा बाढीको विशेष जोखिम रहेको बताइएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने भू(भागमा रहनुहुनेहरूलाई सुरक्षित स्थानमा सर्न र बेलुकासम्म विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता कायम गर्न सूचना जारी गर्दै नदी तथा खोलानालाहरूको जलसतह सतर्कता तह आसपास पुगेको र अझै बढ्दो क्रममा रहेको उल्लेख गरेको छ । मौसमविद्हरूका अनुसार आगामी केही घण्टासम्म निरन्तर वर्षा हुने सम्भावना रहेकोले तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।
महाकाली नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाइएको छ । सुरक्षा निकायहरू तयारी अवस्थामा छन् । यति बेला जनमानसमा सतर्कता, सहकार्य र जानकारीको सशक्त सञ्जाल आवश्यक छ ।
प्रतिक्रिया दनुहोस्