धनगढी – कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार दशकौंसम्म स्थानीय प्रशासनिक केन्द्र र सांस्कृतिक थलोका रूपमा परिचित रहँदै आएको भए पनि हाल त्यो संरचना पूर्ण रूपमा जिर्ण अवस्थामा पुगेको छ। सरकारी बेवास्ता, बजेटको अभाव र चुरे क्षेत्रमा माटो कटानको जोखिमका कारण दरबारको अस्तित्व नै संकटमा परेको छ।
करिब विसं १९२० देखि १९४० सालको बीचमा निर्माण भएको मानिने यो दरबार तत्कालीन राणा शासनका सहायक प्रशासनिक केन्द्रका रूपमा प्रयोग भएको इतिहास स्थानीय अभिलेख र जनश्रुतिले पुष्टि गर्छ। दुईतले काठ–माटोको संरचना, बाक्लो ढुङ्गाको पर्खाल र ठूलो खुला आँगन रहेको दरबार कुनै समय कर संकलन र सैनिक गतिविधिको केन्द्र मानिन्थ्यो।
८७ वर्षीय वयोवृद्ध चैत बहादुर चौधरी भन्छन्,
“यो दरबार हाम्रो पुर्खाको इतिहास हो। राणा सरकारको सबै काम यही हुन्थ्यो। मैले २००७ सालमा बलियो देखेको थिएँ, अहिले त खरानीजस्तै भएको छ।”
अहिले दरबारको करिब ७० प्रतिशत संरचना भत्किसकेको छ। छानो भत्किएर भुइँमै झरेको र कतिपय पर्खालमा ठूला चिरा परेको अवस्था देखिन्छ। पुराना ढुङ्गा र काठका झ्यालहरू समेत चोरी हुँदै गएका स्थानीयको भनाइ छ।
पूर्व शिक्षक झलकसिंह धामीका अनुसार,
“गर्भा दरबारलाई इतिहास पढ्नका लागि विद्यालयमै उल्लेख गरिन्थ्यो। तर अहिले कसैले वास्ता गरेन। संरक्षणको कुरा धेरैपटक उठेको हो तर बजेट कहिल्यै आयेन।”
२०६५ सालमा दरबारलाई संरक्षण गरी पर्यटन गन्तव्य बनाउने प्रस्ताव आएको थियो। चुरे क्षेत्र संरक्षण परियोजनासँग समेत समन्वय प्रयास गरिएको भए पनि अहिलेसम्म ठोस योजना नबनेको कैलाली जिल्ला प्रशासन स्रोतले जनाएको छ।
सामाजिक अभियन्ताहरूको भनाइमा, यो दरबारको संरक्षण भए स्थानीय पहिचान, इतिहास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेछ। तर सरकारी स्तरमा चासो नदेखिँदा गर्भा दरबार इतिहासका पानामा सीमित हुने खतरा बढेको छ।
स्थानीय युवा रुक्मिणी साउँद भन्छिन्,
“अब संरक्षण भए हुन्थ्यो। पुरानो दरबार सकिन लागेको देख्दा दुःख लाग्छ।”
विशेषज्ञहरूले तत्काल दरबारलाई ऐतिहासिक सम्पदा सूचीमा राखी संरक्षण बजेट छुट्याउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दनुहोस्