धनगढी : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत हाल सञ्चालनमा रहेको ५० शय्याको अस्पताल सबैजसाे स्वास्थ्य उपचार सेवा लिन मिल्ने सुदूरपश्चिम प्रदेशस्तरीय रेफरल अस्पताल कहिले बन्ला आम चासाेकाे विषय रहेकाे छ । अस्पतालका निर्देशक प्रमोद यादवले तयार पारेको चार बर्षे रणनीतिक योजनामा अझै चार वर्ष लाग्ने उल्लेख छ ।
उनकाे तयार रणनीति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा ओपिडी, आईपीडी सेवामा ५० प्रतिशत सेवाग्राहीको सङ्ख्या बढाउने त्यसपछि आर्थिक वर्ष २०८३/८४ मा अस्पताललाई ३ सय शय्यामा विस्तार गर्ने उल्लेख छ । सोही वर्ष शैक्षिक प्रशिक्षण कार्यक्रम, सीएमई र अनुसन्धान कोष सुरु गर्ने, एमआरआई, सिटी स्क्यान सहित पूर्ण रेडियोलोजी सुट सञ्चालनमा ल्याउने योजनामा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०८४/८५ मा क्यान्सर उपचार, बाँझोपन उपचार, पोषण, न्यूरोलोजी, बर्न युनिट स्थापना गर्ने, स्थायी क्याथल्याब टिम सहित हृदय केन्द्र स्थापना गर्ने, शल्यक्रिया, प्रयोगशाला, इमेजिङका लागि कागजरहित रेकर्ड प्रणाली पूरा गर्ने र प्रत्यारोपण सम्भाव्यता अध्ययनका लागि दातृ संस्था/गैरसरकारी संस्थासँग साझेदारी गर्ने उल्लेख छ ।
निर्देशक यादवले तयार पारेको रणनीतिक योजनामा आर्थिक वर्ष २०८५/८६ मा ६ सय शय्याको क्षेत्रीय रेफरल मोडेल अस्पताल बनाउने उल्लेख छ । जसमा पूर्ण प्रत्यारोपण, ट्राउमा र मधुमेह उपचार केन्द्र स्थापना गर्ने, जेनेटिक प्रयोगशाला र स्क्रिनिङ युनिट सुरु गर्ने र सुदूरपश्चिम प्रदेशको आधिकारिक प्रदेश स्तरीय रेफरल र शैक्षिक अस्पताल घोषणा गर्ने उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्