बाजुराको बुढीगंगा अब ‘बार्जु नगरपालिका’ नामले चिनिने

कैलाली : बाजुराको बुढीगंगा नगरपालिका अबदेखि ‘बार्जु नगरपालिका’ नामले चिनिने भएको छ। नगरपालिकाको १२औँ नगर सभाले सर्वसम्मत निर्णय गर्दै नाम परिवर्तनको प्रस्ताव पारित गरेको हो।

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार, पुरानो नामका कारण प्रशासनिक र व्यवहारिक समस्या उत्पन्न भइरहेका थिए। मोरङ जिल्लाको ‘बुढीगंगा गाउँपालिका’ र बाजुराकै ‘बुढीनन्दा नगरपालिका’सँग संक्षेपमा ‘बुनपा’ जुध्दा प्रदेश तथा संघीय सरकारबाट आउने योजना र बजेटमा अन्योल सिर्जना भएको थियो। कहिलेकाहीँ बुढीगंगा नगरपालिकाका लागि आएको बजेट अन्य पालिकामा पुग्ने अवस्था समेत आउन थालेपछि नाम परिवर्तन अपरिहार्य भएको उनले बताए।

Seti Hospital

समस्यालाई समाधान गर्न पाँचौँ नगर सभादेखि नै छलफल सुरु गरिएको थियो। कार्यपालिकाले समिति गठन गरी नाम फेर्नुपर्ने आवश्यकता र विकल्पहरूबारे अध्ययन गर्‍यो। त्यस्तै ‘समृद्धिका लागि बुढीगंगा विकास कचहरी’ सम्मेलन आयोजना गरी सरोकारवालासँग सुझाव सङ्कलन गरियो। अधिकांश सहभागीले नाम जुधाइले परेको अप्ठ्यारो अन्त्य गर्न नाम फेर्नुपर्नेमा जोड दिएका थिए।

समितिले टाँटे, बाजुरा, बार्जु बुढीगंगा लगायत नामहरू सुझावका रूपमा सङ्कलन गर्‍यो। अन्ततः ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ‘बार्जु’ नाममा सर्वसम्मति जुट्यो। नगर प्रमुख बानियाँका अनुसार बाइसे–चौबिसे राज्यकालमा बार्जु शक्तिशाली सभ्यताको केन्द्र थियो, र हालको ‘बाजुरा’ नाम पनि यही ‘बार्जु’ शब्दबाट अपभ्रंश भएको मानिन्छ।

‘हामीले हाम्रो इतिहास र सभ्यताको सम्मान गर्न यो निर्णय गरेका हौँ,’ बानियाँले भने। स्थानीयवासीहरूले पनि निर्णयको स्वागत गरेका छन्। ‘समस्या आएपछि समाधान खोज्नु उपयुक्त हो, हामीले नाम परिवर्तनलाई सकारात्मक रूपमा लिएका छौं,’ स्थानीय बासिन्दा नरेन्द्र थापाले प्रतिक्रिया दिए।

हाल नाम परिवर्तनको निर्णय नगर सभाबाट पारित भइसकेको भए पनि कानुनी रूपमा कार्यान्वयन हुन केही समय लाग्नेछ। अब यो प्रस्ताव प्रदेश सभामा पठाइनेछ। त्यसपछि प्रदेश सरकारको मन्त्रिपरिषद् हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्ततः नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र ‘बार्जु नगरपालिका’ आधिकारिक रूपमा मान्यता पाउनेछ।

स्वीकृतिपछि नगरपालिकाको वेबसाइट, लेटरप्याड, सूचना बोर्डदेखि सबै सरकारी कागजातमा नयाँ नाम प्रयोग गरिनेछ। “यो प्रक्रियाले केही समय लिन्छ, तर हाम्रो ऐतिहासिक पहिचान पुनःस्थापित गर्न यो आवश्यक कदम हो,” नगर प्रमुख बानियाँले स्पष्ट पारे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार