धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन्।
प्रहरी संगठनमा सहायक हवल्दारका रूपमा कार्यरत ऐरीले केही समयअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, ऐरीले केही महिनाअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। “उहाँको राजीनामा अहिले स्वीकृत भएको हो,” प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
२५ वर्षीय दीपेन्द्र ऐरी नेपाली क्रिकेटका उदाउँदा स्टार मानिन्छन्। उनले राष्ट्रिय टोलीका लागि धेरै महत्त्वपूर्ण खेलमा कप्तानको जिम्मेवारी समेत सम्हालिसकेका छन्। पछिल्लो समय नेपाली टिमका उपकप्तानको रूपमा निरन्तर सक्रिय रहेका ऐरीले टी–२० विश्वकप २०२४ मा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रहरी सेवाबाट राजीनामा दिएपछि ऐरीले खेल जीवनमा अझ बढी ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ। यद्यपि, उनले हालसम्म यसबारे सार्वजनिक रूपमा विस्तृत धारणा दिएका छैनन्।
क्रिकेट प्रेमीहरूका लागि यो समाचार केही हदसम्म अचम्म लाग्नसक्छ, तर खेल जीवनमा पूर्ण समय दिने उद्देश्यले उनले यस्तो निर्णय लिएको अड्कल गरिन्छ।
प्रतिक्रिया दनुहोस्