धनगढी : सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिए ।
मन्त्री चौधरीका अनुसार मुख्यमन्त्री शाहले राति टेलिफोन गर्दै मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । निर्देशनको एक साता पुगेको छ । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छैनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले पनि हटाउन सकेका छैनन् । जसका कारण मुख्यमन्त्री शाहमाथि नै नैतिक प्रश्न उठ्न थालेको छ ।
मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा छन् । नियुक्तिमा सल्लाह नगरेको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको हुँदा चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन गरिएको मुख्यमन्त्री सचिवालय स्रोत बताउँछ । मन्त्री चौधरीले १९ जेठमा मन्त्रीस्तरीय निर्णयबाट खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई नियुक्त गरे ।
मुख्यमन्त्री शाहले उक्त नियुक्तिका विषयमा १५ दिनपछि मात्रै थाहा पाए । ‘जोशीलाई खप्तडको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै बधाईसहितको पोस्ट सामाजिक सञ्जालमा देखेपछि मुख्यमन्त्रीलाई नियुक्तिका विषयमा थाहा भएको थियो,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले भने, ‘नियुक्ति गर्दा एकपटक पनि सल्लाह नगरेको भन्दै मुख्यमन्त्री मन्त्री चौधरीप्रति रुष्ट भएका थिए ।’
मन्त्रालयको बजेट निर्माणमा चौधरीले आर्थिक चलखेल गरेको र कृषिमन्त्री भएका बेला कृषि अनुदान वितरणसम्बन्धी विवादमा मुछिएकाले पनि मुख्यमन्त्री शाहले उनको राजीनामा मागेको मुख्यमन्त्रीनिकट स्रोतले बतायो । मन्त्री चौधरीले भने आफूले गलत नगरेको बताउँदै भने, ‘खप्तडको कार्यकारी निर्देशक किन नियुक्त गरेको भन्दै राजीनामा मागिएको हो । मैले राजीनामा दिन्नँ, बर्खास्त गर्नुहोस् भनेको थिएँ ।’
मुख्यमन्त्री शाहमाथि नै नैतिक प्रश्न
मन्त्रीलाई दिएको राजीनामाको निर्देशन कार्यान्वयन नभएपछि अहिले मुख्यमन्त्री शाहमाथि नै नैतिक प्रश्न उठ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट पनि प्रदेश सरकारका पछिल्ला गतिविधिमा खुसी छैनन् । ‘प्रदेशका मुख्यमन्त्रीले मन्त्रीको राजीनामा माग्ने अनि ती मन्त्रीले बर्खास्त गरिदिन चुनौती दिने विषय ठीक होइन,’ पूर्वमुख्यमन्त्री भट्टले भने, ‘यस्ता गतिविधिले राम्रो सन्देश दिँदैन । प्रदेश सरकारप्रति सकारात्मक सोच निर्माण हुँदैन । मुख्यमन्त्री शाहले राजीनामा माग्नुको कारण सार्वजनिक गर्नु नै ठीक हुन्छ ।’
नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य खुसीराम डगौरा थारु मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको स्पष्ट कारण दिनुपर्ने तर्क गर्छन् । ‘के कारणले राजीनामा मागिएको हो, त्यो कुरा पहिले स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘यदि खप्तडको नियुक्तिकै कारण राजीनामा मागिएको हो भने त्यो गलत हो । नियुक्तिमा त मन्त्रीकै अधिकार छ ।’ मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार जितु उपाध्याय मन्त्रीको राजीनामाको विषयले छिट्टै निकास पाउने बताउँछन् । ‘मन्त्री चौधरीको राजीनामाको विषयमा छलफल भएको सत्य हो,’ उनले भने, ‘उहाँले राजीनामा नदिएपछि हामी छलफलमै छौँ । छिट्टै निकास आउँछ ।’ उपाध्यायले विभिन्न विवादमा मुछिएका कारण मन्त्री चौधरीको राजीनामाको विषयमा छलफल भएको बताए ।
प्रतिक्रिया दनुहोस्