धनगढी : कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सकहरुले एक घण्टा पनि काम नगर्ने गरेको पाइएको छ। विश्व विद्यालयको अस्पतालमा चिकित्सक बिहान १० बजे पुग्ने र ११ बजे फर्किने गरेका हुन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले चिकित्सक अस्पतालमा नभेटिने गुनासो आएको बताएको छ।
समितिले गेटा अस्पतालका निर्देशक प्रमोद यादवसँग छलफल गर्दै अस्पतालको सेवा सुधार र चिकित्सक ११ बजे फर्किने गरेको बताएको हो। गेटा अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले लापर्बाही गर्ने गरेका आरोप समितिको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले दुःख पाएका समितिले बताएको छ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन सय शय्या क्षमताको अस्पताल सञ्चालन गर्ने बताएको थियो। तर, हाल ५० शय्याको अस्पताल पनि पूर्ण रूपमा सञ्चालन नभएको भन्दै समितिले खबरदारी गरेको हो। समितिले अस्पतालको सेवा चुस्त दुरुस्त नभएको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी नभएको, कर्मचारी नियुक्तिमा मनोमानी तथा हटाउने काम भएको बताएको छ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले तीन सय शय्याको अस्पताल भनेर ५० शय्यासमेत पूर्ण रूपमा सञ्चालन नहुनु विडम्बना भएको बताए। उनले ५० शय्यामात्र पनि इनडोर सेवा मात्रै सञ्चालनमा रहेको बताए। चित्रितहरू र उपकरण हुँदा पनि चिकित्सकहरू अस्पतालमा नबस्ने गरेका कारण बिरामीको चाप बढ्न नसकेको आरोप पाण्डेको छ।
गेटामा आगामी आर्थिक वर्षदेखि तीन सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी सञ्चालन गर्न अस्पताल प्रशासनले भूमिका खेल्नुपर्ने पाण्डेले बताएका छन्। आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अध्यापन गराउने वातावरण बनाउन सबैले अ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उनले बताए। उनले भने, ‘यहाँ मेसिन बिग्रिएका छन् भनेर निजी अस्पतालमा बिरामी पठाउने, डाक्टर १० बजे आएर ११ बजे जाने जस्ता गुनासो आएका छन्’ उनले भने ‘किन अस्पतालमा बिरामीको चाप बढ्न सकेन भनेर यस क्षेत्रका जनप्रतिनिधि बसेर सल्लाह गर्न आवश्यक छ।’
सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा. डम्बर बहादुर पालले यती ठुलो संरचना बनाउँदा पनि सेवा प्रवास चुस्त दुरुस्त हुन नसक्नु विडम्बना भएको बताए उनले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाएर चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा पढाइको काम सुचारु गरिनुपर्ने बताए। सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा. नर बहादुर मौनीले ३० जना डाक्टर हुँदा पनि त्यो अनुसारको सेवा प्रभाव हुन नसकेको बताउँदै यस्तो हुनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताए।
सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले सङ्घर्ष समितिले अस्पतालको अवस्था बुझ्नको लागि छलफलको आयोजना गरिएको बताए। उनले अस्पताल विश्वविद्यालयको जग भएकाले यसलाई सुदृढ बनाउन आवश्यक रहेकाले सङ्घर्ष समितिले निरन्तर दबाबका कार्यक्रम जारी राखेको बताए। सङ्घर्ष समितिका सदस्य विनोद विष्टले इमर्जेन्सी सेवा सञ्चालन नहुँदा गेटबाट बिरामी फर्किनुपर्ने अवस्था रहेको बताए।
उनले अस्पतालका लागि मात्रै डेढ अर्ब खर्च भइसक्दा पनि अझै अस्पतालको सेवा प्रभावकारी हुन नसकेको बताए। उनले फार्मेसीमा औषधी नपाउने, नर्सहरूको व्यवहार राम्रो नभएको, क्यान्टिनमा पनि दररेट भन्दा बढी पैसा लिने गरिएको बताए। सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले मेडिकल सामान खरिद गर्नु पूर्व वायोमेडिकल इन्जिनियर परिवर्तन गरिनु, लेखा अधिकृत सरुवा गरिनुले भ्रष्टाचारको पनि गन्ध आएको बताए।
छलफल कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक यादवले अहिलेसम्म पुरानै निर्देशकले बनाएको योजना अनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउनदेखि आफूले बनाएका योजना अनुसारका क्रियाकलाप गरिने बताए। उनले साउनदेखि स्वास्थ्य बिमा, मातृ शिशु कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। उनले अहिलेसम्म पनि अस्पतालको खाता नखुलेकाले आम्दानी गरेको रकम खर्च गर्ने सक्ने अवस्था नभएकाले त्यसका लागि पनि साउनेदेखि प्रक्रिया अगाडि बढाउने बताए। उनले साउनदेखि तीन सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति र दरबन्दी माग गरिएको बताएका छन्।
कर्मचारी सरुवा, हटाउने कुरा आफ्नो मातहतमा नभएको समेत उनले बताएका छन्। बायोमेडिकल इन्जिनियर ज्यालादारीमा कार्यरत भएकाले सरकारले नै पुसदेखि जारी गरेको सर्कुलर अनुसार हटाउनु परेको उनले बताए। उनले भने ‘कुनै पनि अधिकृत स्तरको कर्मचारी ज्यालादारीमा राख्न नपाइने भएकाले पुरानो बायोमेडिकल इन्जिनियरलाई हटाएर नयाँ करारमा ल्याएका हौ।’
प्रतिक्रिया दनुहोस्