काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी जेन्जी पुस्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् ।
आइतबार नेपाल विद्यार्थी संघ दोलखा काठमाडौँ सम्पर्क समितिको आयोजनामा काठमाडौँमा भएको ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी जेन्जी पुस्तालाई समेटेरै अगाडि बढ्ने बताएका हुन् ।
सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मेको पुस्तालाई जेन्जी भनिने उल्लेख गर्दै नेता थापाले यो पुस्ताले मुलुकको ठूलो परिवर्तन केही नदेखेको तर नेताहरुले भ्रष्टाचार गरेको चर्चा मात्र सुनेको भन्दै यिनीहरुसँग गर्नुपर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्ने बताए ।
पहिले प्रविधि नहुँदा बाबुले जस्तो सिकायो छोराले त्यही सिक्ने र भनाइ पालना गर्ने जमाना रहे पनि अहिले बाबुले सिकाएको भन्दा उसले प्रविधिबाट फरक कुरा सिक्ने गरेको अथार्थ उनले सुनाए ।
थापाले जेन्जी पुस्तालाई सिकाउन भन्दा पनि उसले के चाहिरहेको छ त्यसबाट छिटो समाधानतर्फ पुग्न सकिने बताए ।
जेन्जी पुस्ताले नेपालमा भ्रष्टाचार बढेको, बेथिति बढेकोमात्र सुनेको भन्दै उनले कांग्रेसले जेन्जी पुस्तालाई विश्वासमा ल्याउने हो भने आफूले भन्दै आएको २०४६ सालको बहुदलपछि नेतृत्व तहमा बसेका स्थानीय तहका सदस्यदेखि प्रधानमन्त्रीसम्मका सबैको सम्पत्ति विवरण छानबिन गरेर जो दोषी देखिन्छ उसलाई कारबाही गरेर देखाउनु पर्ने धारणा पनि राखे ।
त्यसका लागि तटस्थ पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउनु पर्नेमा पनि नेता थापाको जोड छ ।
उनले कांग्रेसले जेन्जी पुस्तालाई विश्वास दिलाउने हो भने २०८४ को चुनावमा पार्टीको बहुमत आउने दाबी गरे । उनले भने, ‘९० लाख जनसंख्या यो पुस्ताको छ । यसलाई विश्वासमा ल्याउने हो भने सजिलै चुनाव जित्न सकिन्छ । उनीहरुलाई पनि हामीले योग्य ठाउँ दिनुपर्नेछ ।’
तर तीतो यथार्थ पस्किदै नेता थापाले भने, ‘जेन्जी पुस्ताले तीन दलका नेता बाहेक कसैको नेतृत्व देखेन । घुमिफिरी उनै अनुहार आएको देखेका छन् । अनि कांग्रेस केपी ओलीलाई पनि अगाडि सार्ने अनि प्रचण्डलाई अगाडि सार्ने पार्टी भएपछि जेन्जी पुस्ताले विश्वास गर्ने आधार नै भेट्टाएको छैन ।’
कांर्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन्जी पुस्ताका प्रश्नलाई साँचो सहभागीतामा बदल्नु पर्नेमा जोड दिँदै भने, ‘व्यवस्था फेरेका छौँ अब अवस्था फेरेर विश्वास दिलाउनु पर्छ ।’
दोलखा कांग्रेस जिल्ला सभापति बर्मा लामाले जेन्जी पुस्तालाई सम्बोधन गर्ने बहानामा पुराना पुस्तालाई भुल्न नहुने बताए । उनले जेन्जी पुस्ताको नेतृत्व गगन थापाले गर्न सक्ने भन्दै उनले आफूहरु पछाडि रहेर काम गर्न तयार रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दनुहोस्