बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले महिला सञ्जालका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ।
वडास्तरमा गठन भएका सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताए।
महिला सञ्जालका पदाधिकारीहरुलाई लैङ्गिका हिंसा न्यूनीकरणका बिषयमा जानकारी दिने, घरेलु हिंसा र कसुर सजाय ऐनका बिषयमा जानकारी दिने, न्यायिक समितिले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
वडास्तरमा रहेका महिला सञ्जालका पदाधिकारीहरुलाई हानिकारक प्रचलन हटाउन र महिलाका पक्षमा भएका कानुनी बिषयमा जानकारी गराइ परिचालनमा सहजता होस भनेर तालिमको आयोजना गरिएको कुँवरले बताए। देहीमाण्डौंमा सञ्चालन भएको तालिममा वडा नं १, २, ३, ७, ९ र ११ मा रहेका महिला सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
वडा नं ४, ५, ६, ८ र १० का महिला सञ्जालका पदाधिकारीहरुका लागि शुक्रबारदेखि तालिम सञ्चालन हुने बताइएको छ। वडास्तरमा रहेका महिला सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धिमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताए।
प्रतिक्रिया दनुहोस्