कञ्चनपुरको खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै सूर्य नउदाउँदै चुरे पर्वतनजिकैको दोदा (मछेली) नदीको बगरमा पुग्छन्।

हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकालेर तारजालीमा छान्छन्। बालुवा एकातिर र गिट्टी अर्कातिर थुपार्छन्। यो काम झमक्क साँझ नपर्दासम्म चल्छ। दिउँसो खाना खान दुई घण्टा मात्र विश्राम लिन्छन्। एक दशकदेखि नदीको बालुवा र गिट्टी चालेर बेच्दै गिरी परिवारको जीविका चलेको छ। उनी भन्छन्, ‘नदी नै बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ। पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन गाह्रो थियो। बालुवा चाल्न थालेपछि भारत जान छाडेँ। अहिले थोरै कमाउँछु, तर परिवारसँग सुखदुखमा साथमा छु।’ चार–पाँच दिनमा एक ट्रली बालुवा र गिट्टी सङ्कलन गर्दा दुई हजारदेखि तीन हजार कमाइ हुन्छ। महिनामा १२ देखि १५ हजार कमाइ हुने गरेको छ।

Seti Hospital

गिरी दम्पतीसँग गाउँमा घर र थोरै खेतीपातीको जग्गा छ, तर त्यसले छ महिना पनि धान्दैन। बालुवा, गिट्टी बेचेर आएको कमाइले नुनतेल, लत्ताकपडा र अन्नको जोहो हुन्छ। भीमजस्तै गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्छन्। बिहानदेखि सुरु भएको दैनिकी बेलुका थकाइसँगै बन्द हुन्छ। आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्छ। ’बालबालिका छाडेर सबै जना बालुवा, गिट्टी चाल्छौँ। महिनामा २०–२५ हजार कमाइ हुन्छ, त्यसैले घरायसी खर्च धान्छौँ,’ उनले भने।

नदीमा ठेक्का चाँडो खुले धेरै दिन बालुवा, गिट्टी चाल्न पाइन्छ, तर ढिलो खुले मजदुरी खोज्नुपर्ने बाध्यता छ। असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्छन्। असारदेखि भदौसम्म बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने भएकाले काम खोज्नुपर्ने अवस्था छ, न्यौटी नाथले बताए। खल्लागोठमा ९० परिवार बस्छन्।

गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेर जीविका चलाउँछन्। उब्जाउ नहुने थोरै जग्गा भएकाले नदीमा बालुवा चाल्नुपरेको उनीहरू बताउँछन्। धनबहादुर विक भन्छन्, ’जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याउँछ।’

‘असारदेखि पानी दर्किएपछि नदीको बाढी गाउँभित्र पस्छ, तीन महिना त्रासमा बाँच्नुपर्छ,’ उनले भने, ‘नदीजन्य पदार्थ उत्खननको ठेक्काबाट केही रकम नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउन खर्च गर्नुपर्छ, तर यो कुरा सुनवाइ हुँदैन।’ गाउँका ४५ घर बाढीको जोखिममा छन्। स्थानीयले नदी र बस्तीलाई असर नपर्ने गरी बालुवा, गिट्टी उत्खनन गर्छन्।

उनीहरू भन्छन्, ’नदीलाई शत्रु होइन, सहयात्री ठान्छौँ, यसले जीवन जिउने आधार दिएको छ।’ पहिला पहाडबाट तराई झर्नेहरूले खल्ला (पानी जम्ने ठाउँ)मा गोठ राखेपछि यो ठाउँ खल्लागोठ भनिएको हो। गाउँका केही बासिन्दाले बालुवा चाल्नेसँगै नजिकैको वन क्षेत्रमा बाख्रापालन गरेर अतिरिक्त आम्दानी गर्छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार