कैलाली : दुई वर्ष अघि कैलालीको बुढीतोलामा खसेको पहिरोले भासिएको सडकको अझै पुनर्निर्माण हुन सकेको छैन । २०८० साउन २२ गते राती वर्षा सँगै ठुलो पहिरो आउँदा सडक भासिएको थियो । ठुलो पहिरो गएर राजमार्ग भासिएका कारण एक सातासम्म राजमार्ग अवरुद्ध भएको थियो । पहिरोले ७० मिटर सडक पुरै बगाएको थियो भने ३८० मिटर सडकमा क्षति पुगेको थियो ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक एक साता पछि जसोतसो सुचारु गरिए पनि अझैसम्म पनि पूर्ण रूपमा मर्मत हुन सकेको छैन । पहिरो खसेपछि दलदल बनेको सडक अहिले पनि थोरै पानी पर्दा हिलाम्मे हुने गरेको भए पनि २ वर्ष सम्म मर्मतका काम नसकिँदा पुनः बर्सादमा यात्रुले सास्ती खेप्ने चिन्ता बढेको छ ।
सो ठाउँमा जमिन मुनिको पानी पनि निरन्तर बगिरहेकाले लामो समय देखि पानी व्यवस्थापन मै लागेको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । डिभिजन सडक कार्यालय महेन्द्रनगर प्रमुख हरि सुवेदी पहिलो पछि निरन्तर जमिन भित्रबाट आइरहेको पानीलाई एकै ठाउँमा जम्मा गरेर निकास गर्ने काम भइरहेको बताए । उनले त्यसका लागि सडकको माथि इनार बनाएर पानी सङ्कलन गर्दै भित्र ड्रिल गरेर फाल्ने संरचना तयार भइरहेको बताए ।
उनले अहिले निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उक्त सडक निर्माणका लागि करिब ६ करोड ४० लाखमा जेएसआई हटैराज जेभीले ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता अन्तरगत सडकमा बगिरहेको पानी व्यवस्थापन सँगै सडकको वाल निर्माण गरिने उल्लेख छ ।
सडक निर्माणको काम नसकिँदा अहिले सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले सामान्य ग्राभेल गरेर सडक सञ्चालनमा ल्याउने काम गरेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्