धनगढी । बैंकिङ कसुरमा पक्राउ परेका डडेलधुरा भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिसिंह पालीको कारागार चलान भएको दुई दिनमै मृत्यु भएको छ । प्रहरीको यातनाका कारण उनको ज्यान गएको आफन्तको आरोप छ ।
पालीलाई भारतीय नागरिकसँगको लेनदेनको विषयमा दुई महिनाअघि महेन्द्रनगर, कञ्चनपुरबाट २ घण्टा हिरासतमा राखी बार्गेनिङपछि छाडिएको थियो । पछिल्लो समय डडेलधुराबाट निजी सवारी प्रयोग गरी जिल्ला प्रहरी कार्यालय कैलाली पु¥याइएका पालीलाई त्यसपछि जिल्ला कारागार कार्यालय कैलालीमा राखिएको थियो ।
कारागारमा दुई दिन नबित्दै बिरामी भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, कैलाली लगिएको थियो । तर अस्पतालमा पुर्याइएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार पालीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो ।
तर मृतकका आफन्तहरूले भने प्रहरीको यातनाले उनको मृत्यु भएको दाबी गरेका छन् । मृतकका काका पदमसिंह पारीका अनुसार प्रहरी नायक निरीक्षक हर्जित नाथले पटक–पटक पैसा मागेका थिए । उनका अनुसार असार २ गते ८५ हजार रुपैयाँ हर्जित नाथकै खातामा पठाइएको थियो ।
प्रहरीकै मिलो मतोमा, ज्यादती र आघातबाट हरिसिंहको मृत्यु भएको छ । प्रहरी नायब निरीक्षकले दलालको भूमिकामा रहेर उनको हत्या गरे, काका पदमसिंहको आरोप छ । सञ्चारकर्मीहरूले सेती अञ्चल अस्पतालको शवगृहमा जाँदा पालीको शरीरभरि निलडाम र टाउकोको पछाडिको भागमा चोट देखिएको बताएका छन् । तर प्रहरीले भने यस्ता आरोपहरू अस्वीकार गर्दै अनुसन्धान प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
मृतकका आफन्तहरूले प्रहरीको दमनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । साथै, दोषी प्रहरीलाई कारबाही नहुँदासम्म शव नउठाउने अडानमा पनि उनीहरू रहेका छन् । मृतक पालीका श्रीमती र एक छोरा रहेका छन् । यस घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ भने न्यायको माग गर्दै पीडित पक्षको संघर्ष अझ चर्किंदै गएको छ ।
प्रतिक्रिया दनुहोस्