अछाम : अछामको मंगलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ। मंगलसेन बजार भित्रको सबै फोहोर लिएर मध्यपहाडी राजमार्ग अन्तर्गत ठुलासैन–मंगलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो।
मंगलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे। मानिसको स्वास्थ्यमा असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ।
पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ। बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको हो। घरबाट निस्कस्ने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, बोइलर कखुराको भुत्ला, मदिराका बोतलहरू लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ। यसरी जथाभाबी फोहोर फालिँदा जंगल नै कुरूप मात्र होइन, स्वास्थ्यको जोखिम पनि बढेको त्यो बाट आवतजावत गर्ने नागरिकहरूले बताएका छन।
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ। थुपारिएको फोहोरमै स्यालहरू जम्मा हुने गरेकाछन। फोहोर हटाउनर त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरि पटक–पटक नगरपालिकालाई पत्राचार गरेको छ। तर, पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञ प्रसाद ढुंगानाले बताए। नगरपालिकाले एक वर्षदेखि फोहोर वन क्षेत्रमा फाल्दै आएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पहिलैदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको बताए।
प्रतिक्रिया दनुहोस्