धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार (आज) बजेट ल्याउदै छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ५ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सोही समयका लागि आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
संविधानअनुसार प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले प्रदेश सरकारले समयमै बजेट ल्याउन तयारी गरिरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी वर्षको बजेट पनि सोही हाराहारीमा रहने अनुमान गरिएको छ ।
प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई तीन करोड रुपैयाँ बराबरका योजना बाँड्ने सहमति अनुसार बजेटमा समावेश गर्ने तयारी गरेको छ । कुल ५२ जना सांसदलाई यसअनुसार योजना वितरण गरिँदैछ, जसअनुसार झण्डै दुई अर्ब १८ करोड रुपैयाँ बराबरको रकम उनीहरूका सिफारिसमा छुट्याइनेछ ।
सरकारले नयाँ बजेट ल्याउँने तयारी गर्दा हाल पुँजीगत खर्चको अवस्था भने नाजुक छ । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च न्यून भएको छ । प्रदेश सरकारले पुँजीगत खर्च ३२.६० प्रतिशतमात्र गर्न सकेको छ ।
पुँजीगततर्फको १८ अर्ब ७५ करोड ५९ लाख बजेटमध्ये ६ अर्ब ११ करोड ३५ लाख रुपैयाँ निकासा भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले हालसम्म चालुतर्फ भने १२ अर्ब ७७ करोड छ लाख रुपैयाँमध्ये ६ अर्ब ६७ करोड ३० लाख रुपैयाँ (५२.२५ प्रतिशत) खर्च भएको छ । प्रदेशको कुल खर्च ४०.५५ प्रतिशत छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको पुँजीगत खर्च ४१.७३ प्रतिशत र चालु खर्च ४९.१५ प्रतिशत थियो ।
प्रतिक्रिया दनुहोस्