काठमाडौँ : तीनकुने घटनामा काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका ७ जनालाई शुक्रबार डिल्लीबजार कारागार चलान गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो ।
डिल्लीबजार कारागारका कारागार प्रशासक बाबुराम आर्यालका अनुसार उनीहरुलाई शुक्रबार दिउँसो कारागार ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार राति थुनामा राख्न आदेश दिएको थियो ।न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये आपराधिक उपद्रवअन्तर्गत ११ जना यसअघि नै धरौटीमा छुटेका छन् । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहसपछि अदालतले यो निर्णय गरेको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवलशमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेर पक्राउ पुर्जीको लागि पक्रिया अघि बढाएको छ । अघि नै प्रहरीले हाजिरी जमानीमा छुटाउनेलाई कानुनी रूपमा कारबाही प्रक्रियासमेत अघि बढाएको छ । धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजार देखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ ।
५० जनालाई प्रतिवादी बनाएर सरकारले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो । हिंसात्मक प्रदर्शनमा संलग्न चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर भएको छ ।
तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।
गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् । तिघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ उपचारकै क्रममा छन् । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांकमा छ ।
प्रतिक्रिया दनुहोस्