धनगढी । १ असारमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउने अन्तिम तयारीमा छ । प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक वर्षका लागि २४ अर्ब ४७ करोडको सिलिङ दिएकोमा प्रदेश सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकार बजेटको अन्तिम तयारीमा रहदा प्रदेशका मन्त्रालयमा भीड बढेको छ । सत्तारुढ दल निकट नेताकार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि र मन्त्रीसँग पहुँच भएकाहरुको योजना माग्न मन्त्रालयमा भीड लागेको हो । प्रदेशसभा सदस्यहरुको दौडधुप पनि बढेको छ । आफ्नो निर्वाचन क्षेत्रका योजना पार्न प्रदेशसभा सदस्यहरुले पनि कर्मचारी र मन्त्रीलाई दबाब बढाएका छन् ।
बजेटको अन्तिम तयारी भइरहँदा बिचौलिया सक्रिय भएको आरोप पनि लाग्न थालेको छ । सुदूरपश्चिममा विगतका वर्षदेखि नै बजेट योजनामा बिचौलियाको चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । आगामी आर्थिक वर्षको बजेटमा पनि त्यसै हुनेसक्ने आशंका बढेको कतिपयको तर्क छ । बजेट बनाउने विधि नै मिचिएकाले सुदूरपश्चिममा समस्या थपिँदै गएको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकृत बताउँछन् । ‘यस्तै तरिका हो भने त थिति सुध्रिन मुस्किलै छ,’ ती अधिकृत भन्छन्, ‘बजेटमा लुकामारी चलिरहेको जस्तो देखिन्छ ।’
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी योजनाहरू चोरबाटोबाट जाने क्रम रोकिनै पर्ने बताउँछन् । योजनामा हुने दलाली रोक्ने जिम्मेवारी सरकारको भएको उनले बताए । अर्कोतिर, सांसदहरूले सिफारिस गर्ने योजनाहरू पनि अपारदर्शी हुने गरेको भन्दै आलोचना हुने गरेको छ । एमाले सांसद एवंसामाजिक विकास समितिका सभापति धर्मराज पाठक बजेटमा बिचौलिया रोक्नका लागि योजना दिग्दर्शन अनुसार योजना बैंकमा भएका योजना मात्र समावेश गर्ने परिपाटी बसाल्नुपर्ने बताउँछन् ।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भने विगतदेखि नै बजेटमा कसैबाट हुने चलखेल स्वीकार नहुने दाबी गर्दै आएका छन् । ‘बजेटमा चलखेल र धनगढीमा चहलपहल बढेको हामीले सुनेका छौँ,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भनेका थिए, ‘बजेटमा त्यस्तो चलखेल स्वीकार हुँदैन । त्यसमा संलग्न भेटिए जोकोहीलाई कानुनी कारबाही हुन्छ ।’
प्रतिक्रिया दनुहोस्