काठमाडौं : आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । उत्कृष्ट लयमा रहेको नेपाली टोली आजको खेलमा पनि जित निकाल्दै शृङ्खलामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।
स्कटल्यान्डविरुद्धको पहिलो खेलमा अन्तिम बलमा निकालिएको एक विकेटको जित होस् वा ३२४ रनको विशाल लक्ष्य पछ्याउँदा देखाइएको साहस, नेपाली टोलीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । यसअघि यही शृङ्खलामा नेदरल्यान्ड्सलाई सहजै पाँच विकेटले पराजित गरेको हुँदा नेपाली खेलाडीहरूको आत्मविश्वास बलियाे छ ।
एकातिर उत्कृष्ट लयमा रहेको नेपाल छ भने अर्कोतर्फ अङ्क तालिकामा दोस्रो स्थानमा भए पनि लगातार तीन हार बेहोरेर दबाबमा रहेको नेदरल्यान्ड्स छ । यो मनोवैज्ञानिक फाइदा उठाउँदै नेपाल आजको खेल आफ्नो पक्षमा पार्ने रणनीतिमा हुनेछ ।
सन् २०२७ को विश्वकप यात्राको यो महत्त्वपूर्ण खुड्किलोमा हरेक जितले नेपालको समीकरणलाई बलियो बनाउने छ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दनुहोस्