धनगढी : कैलालीको कैलारी गाउँपालिका-६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्। आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् । धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ ।
उनीहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले विद्यार्थीहरुसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए । उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे । विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ ।
विद्यालयका प्राध्यानाध्यापक खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए । “शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन । गाउँपालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छु ।” कैलारी गाउँपालिका-६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दनुहोस्