काठमाडौं : काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरीविरुद्ध चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको छ।
about:blank
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नक्टाझिझ गाविस) स्थायी घर भई हाल काठमाडौं चण्डोल बस्दै आएका कोइरी २०४६ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। अख्तियारले सेवा प्रवेशदेखि ३० फागुन २०७८ सम्मको अवधिमा कोइरीको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो। यस क्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायतमा भएको आर्थिक कारोबार, जग्गाजमिन, इन्स्योरेन्स, शैक्षिक संस्थामा गरेको लगानीलगायतको स्रोत खुलेको सम्पत्तिको तुलनामा बिगो कायम गरिएको सम्पत्ति बढी देखिएको अनुसन्धानबाट खुलेको हो। यही स्रोत नखुलेको सम्पत्तिलाई नै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्तिका रुपमा किटान गरी मुद्दा दायर गरेको हो। अख्तियारले स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाइएको चलअचल सम्पत्तिसमेत जफत गर्न मागदाबी लिएको छ ।
कोइरी सार्वजनिक सेवामा रहेको अवधिमा तीन करोड ३७ लाख ७९ हजार ४३४ रुपैयाँ बराबरको वैध स्रोत खुलेको र यो अवधिमा भएको लगानी र आय–व्ययको हिसाब ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको देखिएकाले स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो। गैरकानुनी सम्पत्ति कोइरीले विभिन्न क्षेत्रमा लगानी गरी लुकाएको समेत अख्तियारको अभियोगपत्रमा उल्लेख छ। गैरकानुनी सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको भेटिएपछि पत्नी मालाकुमारी महतोलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।
प्रतिक्रिया दनुहोस्