कञ्चनपुर : कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि लामो समयदेखिको जग्गा विवाद सुल्झिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाले मातहतको जमिन विमानस्थलका लागि छाडेपछि विवाद सुल्झिएको हो । सेनाले प्रयोग गरिरहेको निकुञ्जको प्रवेशद्वार सम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छाडेको हो ।
अहिले विमानस्थल निर्माण कम्पनीले अस्थायी रूपमा घेरबारको काम गरिरहेको छ ।‘अब विमानस्थलको निर्माण कार्य पूर्णरूपमा अगाडि बढ्ने भयो,’ मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘अब बाँकी रहेको क्षेत्रमा पनि सबबेसको काम सुरु गरिनेछ ।
सेनाले जमिन नछाड्दा हालसम्म धावनमार्गको काम आधामा मात्रै भइरहेको थियो । १५ सय २५ मिटर धावनमार्ग हुनुपर्ने भए पनि निर्माण कम्पनीले १३ सय मिटरमा मात्रै काम गरिरहेको थियो । उक्त क्षेत्रमा धावनमार्ग कालोपत्रको काम भइरहेको छ । हालसम्म एप्रोन र ट्याक्सीवे तथा ५ सय मिटर धावनमार्ग कालोपत्रको काम सकिएको ओझाले बताए ।
‘अब बाँकी २ सय २५ मिटर रनवेको काम पनि सुरु हुन्छ,’ आयोजना प्रमुख ओझाले भने, ‘थपिएको समयभित्रै धावनमार्गको काम सकिनेछ ।’
प्रतिक्रिया दिनुहोस्