नेपालमा विक्रम सम्वत् २०२५ सालदेखि मनसुनको आगमन र बहिर्गमनको विवरण राख्न थालिएको थियो। त्यस वर्ष असार ४ गते मनसुन नेपाल भित्रिएको अभिलेख छ। त्यसयताको ५७ वर्षको अवधिमा नेपालमा यसपटक चाँडो मनसुन भित्रियो। यस वर्ष जेठ १५ गते राति नै देशको पूर्वी भागबाट मनसुन नेपाल प्रविष्ट भएको थियो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी महाशाखा हावापानी विश्लेषण शाखाले जेठ ७ गते नै मनसुन ऋतुको हावापानी विश्लेषण गर्दै यस वर्ष सरदरभन्दा बढी तापक्रम र वर्षा हुने बताएको थियो।
सरदरभन्दा ६५ प्रतिशतसम्म वर्षा, तापक्रम पनि सोहीअनुसार हुने प्रक्षेपण भएपछि किसानहरू उत्साहित थिए। विशेष गरेर कुलो नलाग्ने र अकासे पानीको भर पर्नुपर्ने किसानहरूले यस वर्ष चाँडो धान रोप्न पाइने भयो भनेर समयमै ब्याड तयार गरेका थिए।
पहाडी तथा मध्य पहाडी क्षेत्रका अधिकांश ठाउँमा अहिले पनि सिँचाइ कुलाहरूको समस्या छ। जथाभावी खनिएका ग्रामीण सडकले पनि सिँचाइ प्रणाली बिगारिदिएकाले कृषक भल छोप्नुपर्ने बाध्यतामा छन्। तर, जेठ १५ गते भित्रिएका मनसुन जेठ २५ गतेसम्म कोशीबाट विस्तारित हुन सकेको छैन। सरदर समयको आकलन गर्ने हो भने अहिलेसम्म मनसुन नेपालभर विस्तारित भइसक्नुपर्ने थियो। अहिले मनसुन कोशीमै खुम्चिएको छ। जलवायु तथा विपदविद धर्मराज उप्रेतीका अनुसार बंगालको खाडी एवम् अरब सागरमा जेठ महिनाको दोस्रो हप्ताको तापक्रम र वायुको चाप र समुद्रको सतहतको तापक्रम आदिले मनसुनलाई चाँडो धकेलेको थियो। उक्त धकेलिएको मौसम भारतको दक्षिणी भाग, बंगालको खाडी हुँदै नेपालको कोशी प्रदेशसम्म आइपुगेको थियो। भारतको अण्डमान तथा निकोबार द्विप समूहमा तर मे १३ वैशाख ३० मै मनसुन प्रविष्ट भइसकेको थियो।
उनले अहिले मनसुनको उक्त प्रगतिमा ब्रेक लागेको र जेठको २८–२९ पछि मात्रै मनसुन विस्तारित हुने सम्भावना देखेका छन्।
मनसुन सक्रिय नभएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गर्मी बढ्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागले आइतबार विराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री रहने अनुमान गरेको छ। त्यस्तै जनकपुरको पनि ३४ देखि ३६ डिग्री सेल्सियस, सिमराको ३३ देखि ३५, भैरहवाको ३६ देखि ३८, घोराहीको ३४ देखि ३६, नेपालगञ्जको ३७ देखि ३९, धनगढीको पनि ३७ देखि ३९ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलले मुलुकभर अझै तीन दिनसम्म गर्मी बढ्ने आकलन गरेका छन्। उनले मंगलबारबाट मात्रै देशको पूर्वी भेगबाट वर्षा सुरू हुने सम्भावना रहेको औंल्याएका छन्।
पछिल्लो १५ दिनमा बढी अधिकतम र कम न्यूनतम तापक्रम भएका केन्द्र र तापक्रमको अवस्था मनसुनी हावा कोशी प्रदेशबाट विस्तारित हुन सकेको छैन। पछिल्लो समय देशका अधिकांश केन्द्रमा वर्षा नहुँदा गर्मी बढेको छ। यो क्रम अझै केही दिन रहने देखिन्छ।
राम्रो वर्षाका लागि भने बिहीबारसम्मै पर्खनुपर्ने उनले बताए। ‘बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराउला,’ उनले भने।
अर्का मौसमसम्बन्धी जानकार उप्रेतीले नेपालभर मनसुन फैलन असार ४ देखि ६ गतेसम्मै पर्खनुपर्ने हुनेसक्ने बताएका छन्। मनसुनी वायुको अहिलेको अवस्था र पश्चिमी वायुको प्रभावका कारण त्यस्तो निष्कर्ष निकाल्न सकिने उनले बताएका छ्न।
‘जेठको २८–२९ गतेपछि मनसुनमा प्रगति हुँदै असारको ४ देखि ६ गतेतिर सुदूर पश्चिममा पुग्ने पूर्वानुमान गर्न सकिन्छ,’ उनले भनेका छन्। उनले पनि रोपाइँलगायत कृषि कर्म असार १ गतेपछि मात्रै गर्नु उपयुक्त हुने बताएका छन्। उनले पनि जेठको २५ देखि २८ गतेसम्म पूर्वी तथा मध्य तराई र त्यसपछि पश्चिम तराईमा अझ गर्मी बढ्ने प्रक्षेपण गरेका छन्।सेतोपाटी अनलाइन
प्रतिक्रिया दनुहोस्