काठमाण्डौ – चार दिन बन्द काठमाण्डौ–हेटौँडा जोड्ने सडक कान्ति लोकपथ आजदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गएराति सकिएकोले आज बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
गएको २० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर २१ गतेदेखि हिजोेसम्म सडक पूर्णरुपमा बन्द गरी बगुवामा काम गर्ने जानकारी दिएको थियो । त्यसअनुसार २४ सै घण्टा कामदार र प्राविधिक खटाएर काम गरिएको छ ।
गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि बागमती खोलामा भएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो ।
बेलिब्रिजको भारवहन क्षमता ३० टन मात्र छ । सडक आयोजनाले क्षमताभन्दा धेरै भारका गाडी चल्न नदिन आवश्यक निगरानी गर्नका लागि मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अनुरोध गरिएको समेत जनाएको छ ।
प्रतिक्रिया दनुहोस्