टीकापुर । कैलालीको टीकापुरमा एक महिलालाई हातपात गर्ने प्रहरी जिल्ला तानिएका छन् ।
स्थानीय एक महिलालाई कुटपिट गरेका जिल्लाको सत्ती प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक यज्ञराज पन्त जिल्ला तानिएका छन् । उनले शुक्रबार अपरान्ह महिलालाई कुटपिट गरेका थिए ।
पन्तले टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीद्वारा महिलामाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले यसबारे छानविन गर्न समिति गठन गरेको छ । पन्तसहित त्यहाँ कार्यरत दुई जनालाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो ।
स्कुटीको कागजात जाँच गर्ने क्रममा विवाद भएपछि महिलाले तँ भनेको भन्दै प्रहरीले कुटपिट गरेको हो । घटनाक्रम अनुसार महिला स्कुटी चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर आइरहेकी थिइन् । उनी टीकापुर नगरपालिका–७, स्थित प्रहरी बिट नजिकै रोकिइन् । उनीसँग १७ वर्षका प्रेमजंग शाहसमेत थिए ।
महिलाका अनुसार उनी पानी किन्न गइन् । नजिकै रहेका प्रहरी हवल्दार सुरेन्द्र बोहराले स्कुटी नजिकै रहेका शाहसँग लाइसेन्स र ब्लुबुक मागे । ती महिलाले लाइसेन्स र ब्लुबुक आफूसँग रहेको बताइन् । यही क्रममा प्रहरी हवल्दार बोहरा र ती महिलाबीच भनाभन भयो । महिलाले प्रहरी हवल्दारलाई ‘तँ’ भनेर सम्बोधन गरिन् ।
उनीहरुबीच विवाद भएपछि नजिकै रहेका प्रहरी नायब निरीक्षक पन्त आए । उनी प्रहरीको ड्रेसमा थिएनन् ।
महिलाका अनुसार पन्तले आउने बित्तिकै हातपात गरे । आफूमाथि हातपात भएपछि महिलाले उनको परिचय मागिन् । उनले आफू प्रहरी भएको बताए । महिलाले डे«समा नभएका कारण प्रहरी नहुन पनि सक्छ भनिन् । पन्तले महिलालाई जबरजस्ती प्रहरी बिट भित्र थुन्न खोजे । यो क्रममा उनीहरुबीच भनाभनसमेत भयो । प्रहरीले महिलालाई कुटपिट गर्दै नियन्त्रणमा राख्यो ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी पुग्यो । उनीहरु दुवै पक्षले राति १२ बजेसम्म छलफल गरे । प्रहरीले हातपात गर्नु गल्ती भएको स्विकारे पनि महिलाले कारवाही हुनुपर्ने माग राखेकी छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
प्रतिक्रिया दनुहोस्