काठमाडौँ । डोटी जिल्लाको के आई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सरकारी सवारी सधान दुरुपयोग गरेको भेटिएको छ । सरकारी बजेटबाट खरिद गरेको सवारी साधन (मोटरसाइकल) मा नीजि नम्बर प्लेट प्रयोग गरी बद्नियतपूर्ण तरिकाले दुरुपयोग गरेको पाइएको हो ।
गाउँपालिकाको बजेटबाट खरिद गरिएको मोटरसाइकल पालिकाको नाममा दर्ता नगरेको करीव एक वर्ष भयो । शाहीले बा.प्र. ०२ ०५१ प ४४८५ रातो होण्डा कम्पनीको एक्सआर १९० मोटरसाइकल पालिकाको नाममा दर्ता गराएका छैनन् । खरिद गर्दाको बखत बागमती दर्ता गरिएको सो मोटरसाइकलको सहमति यातायात व्यवस्था कार्यालय सेती धनगढीमा लगिएको भएपनि सो कार्यालयमा पालिकाको नाममा दर्ता गरिएको छैन ।
निजी नम्बर प्लेट प्रयोग गरी सार्वजनिक विदामा समेत सरकारी सवारीसाधन प्रयोग गरिरहेका छन् । प्रचलित कानूनको धज्जी उडाउँदै उनले सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्दै आएका छन् । उनले सो साधन २०८१ भदौ महिनामा काठमाडौंको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराबाट यातायात व्यवस्था कार्यालय, सेति धनगढी, कैलालीमा दर्ता गराउने भनी सहमति लगेका थिए ।
तर, सहमति लिएर गएपनि हालसम्म सो यातायात कार्यालयमा दर्ता नगरिएको यातायात व्यवस्था कार्यालय धनगढीले जानकारी दिएको छ । अध्यक्ष शाहीले पनि सो मोटरसाइकल दर्ता नगरिएको स्वीकार गरेका छन् । गत वर्षको भदौ महिनादेखि २०८२ सालको जेठ महिनासम्म यातायात व्यवस्था कार्यालय सेति धनगढीमा सवारी दर्ता गरी सरकारी नम्बर प्लेट लिएका छैनन् । उनले यो दौरान १० महिनाको अवधिसम्म निजी नम्बर प्लेट प्रयोग गरी सवारीको चरम दुरुपयोग गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका शाहीले सर्वसाधारणलाई १० महिनादेखि अब छिट्टै सरकारी नम्बर प्लेट आउँछ भन्दै भ्रममा राख्दै आएका छन् । सर्वसाधारणले अनिमितताको बारे प्रश्न उठाउँदा शाहीले सरकारी नम्बर प्लेट आउन केहि समय लाग्ने भन्दै पन्छिदै आइरहेको एक स्थानीयले बीमापोष्ट डटकमलाई बताए ।
२०७९ बैशाख ३० गते के आई सिंह गाउँपालिकाको अध्यक्षमा पूनः निर्वाचित भएर नेतृत्व सम्हालेका शाहीप्रति स्थानिय रुष्ट बनेका छन् । अध्यक्ष शाहीले मोटरसाइकल गाउँपालिकाको बजेटले खरिद गरेको बताउँदै आफू गाउँपालिकाको अध्यक्ष भएकोले जे जसरी मन लाग्छ उसै गरी प्रयोग गर्न सक्ने दावी गरे । आफ्नो सवारी साधन प्रयोग गर्दैमा के को दुरुपयोग भन्दै बीमापोेष्टसँग आक्रोश व्यक्त गरेका छन् ।
दर्ता गरेको अवस्थामा नयाँ सरकारी नम्बर प्लेट बनेर आउँछ । ‘अब हामीले गाउँपालिकामा भएका कयौँ अनियमितताको भण्डाफोर गर्ने गरी एक भएर अघि बढेका छौं । यो सवारी साधनको पनि चरम दुरुपयोग भइरहेको छ, यसका विषयमा पनि हामीले अध्यक्षलाई भनेका छौँ, तर उहाँले पालिकाको नाममा दर्ता गर्नु मान्नु भएको छैन ।’ नाम नखुलाउने शर्तमा एक वडाध्यक्षले भने ।
प्रतिक्रिया दनुहोस्