राजु पाण्डे निलम्बनमा परेसँगै विष्णुप्रसाद जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं : महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गर्नुभएको हो । 

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । मेयर बालेन्द्र साह (बालेन)को मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको, प्रमुख प्रशासकीय कार्यालयमा ताला लगाएको, गाडीको ह्वील लक गरेको, हाजिर पुस्तिका कब्जामा लिने र जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गर्ने लगायतका आरोपमा उहाँलाई सातवटा स्पष्टीकरण सोधिएको थियो । 

Seti Hospital

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो न भएपछि निलम्बन गरिएको बुझिएको छ । प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाउनुभएको छ । 

निलम्बनको पत्रमा भनिएको छ- ‘२०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाईमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु । 

अतः जाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजका मितिले लागू हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु ।’

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गर्नुभएको थियो । उपमेयर र वडाध्यक्षहरूसँग समेत उहाँको भनाभन भएको थियो । पाण्डे निलम्बनमा परेपछि महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाउनुभएको छ । उहाँलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन साह, उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।

मेरो मूल्यांकन जनताले गर्छन् : पाण्डे
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेपछि उहाँ मंगलबार दिउँसो कार्यालयबाट बाहिरिनुभयो । नियमित समयमै कार्यालय पुगेका पाण्डेले दिउँसो निलम्बन पत्र प्राप्त गरेपछि तत्काल कार्यालय छाड्नुभएको थियो । पाण्डेका अनुसार उहाँ पछिल्ला केही दिनदेखि आमा गम्भीर बिरामी भएका कारण रातभरि अस्पतालमा र दिनभरि कार्यालयमा खटिइरहनु भएको थियो । ‘तीन–चार दिनदेखि आमा अस्पतालमा हुनुहुन्छ, म ड्युटीपछि अस्पतालमै बसिरहेको छु । सबैलाई यो कुरा थाहा छ,’ उहाँले भन्नुभयो, ‘जे गरेँ, सबैसामु छर्लङ्ग छ ।’

पाण्डेले आफूमाथि लागेको आरोप र कारबाहीबारे विस्तृत प्रतिक्रिया दिन मान्नुभएन ‘मैले जे गरेँ, सबैसामु स्पष्ट छ । मूल्यांकन गर्ने जिम्मा मभन्दा अरूलाई छ,’ उहाँले भन्नुभयो । उहाँले मेयर बालेन साहसँग यस विषयमा कुनै गुनासो गर्नुभएको छैन । 

‘कसैसँग पनि यो विषयमा कुरा गरेको छैन, मेयर साबलाई पनि केही भनेको छैन,’ पाण्डेले स्पष्ट पार्नुभयो । व्यक्तिगत रूपमा कुनै गल्ती नगरेको दाबी गर्दै पाण्डेले आफूले कर्तव्य पालनाका क्रममा इमानदारीपूर्वक काम गरेको बताउनुभयो, ‘कर्तव्य पालनामा भएको घटनाबारे म केही टिप्पणी गर्न चाहन्नँ, अब सबै जनतालाई नै छाडिदिएको छु,’ उहाँको भनाइ थियो । पाण्डेले २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । २०७७ मा उहाँ नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको थियो । 

सन् २०२२ मा बालेन साह मेयर निर्वाचित भएपछि धनपति सापकोटाको स्थानमा उहाँलाई नगर प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको थियो । उहाँले साढे तीन वर्षसम्म प्रमुखको हैसियतमा काम गर्नुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार