भाषा नबिगारून् ‘झोले’हरूले!

काठमाडौँ- नेकपा एमालेका नेताकार्यकर्ता यतिबेला ‘म झोले हो’ अभियानमा छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भनेर लेखेपछि कार्यकर्ताहरूले त्यसको अनुकरण गर्न थालेका हुन्।

ओलीको अभियानले समर्थकहरूलाई उक्साएको छ। साथै  अब सामाजिक सञ्जालमा चलाउन सक्ने नेपालीले ‘झोले’ भनेर एमालेका कार्यकर्तालाई चिन्नेछन्।

यहाँ झोले भनेको के हो, झोले कस्ता व्यक्तिलाई भन्ने र झोले बन्न के गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्न खोजिएको होइन।  यहाँ उठाउन खोजिएको विषय हो भाषाको। भाषासम्बन्धी निकायहरू नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनको उपल्लो तहमा विज्ञभन्दा कार्यकर्ता  प्रवृत्तिका व्यक्तिहरू सक्रिय छन्। उनीहरूमाथि भाषा बिगारेको आरोप लाग्दै आएको छ। अहिले आएर प्रधानमन्त्री ओली आफैँले भाषा बिगारेका छन् र भन्छन्- म झोले हो।

नेपाली भाषाको सामान्य व्याकरणअनुसार ‘म’ सँग ‘हुँ’ प्रयोग हुन्छ, ‘हो’ होइन। ‘म झोले हो’ भन्ने वाक्य भाषिक अभ्यासको दृष्टिले अशुद्ध हो। यो कुरा प्राथमिक तहका नेपाली पाठ्यपुस्तकमा हेरे हुन्छ। ती कक्षामा पढ्ने विद्यार्थीसँग सोधे हुन्छ- प्रथम पुरुष एकवचन ‘म’ को क्रियापद के हुन्छ भनेर?

भाषाको शुद्धता हेर्ने जिम्मेवारी पाएका संस्थाहरूमा पनि राजनीतिक बफादारीका आधारमा नियुक्त हुने क्रमले भाषिक सन्तुलन गुम्दै गएको आरोप लागिरहेका बेला प्रधानमन्त्री तहबाट  भाषिक अशुद्धता सार्वजनिक रूपमा प्रचार हुनु दुःखद् छ।

 ‘झोले’ शब्दलाई आत्मगौरवको प्रतीक बनाए पनि प्रधानमन्त्रीले त्यसको अभिव्यक्तिमा भाषिक अनुशासन नअपनाउनु नेपाली भाषामाथिको अवमूल्यन हो। भाषा कुनै दलको निजी सम्पत्ति होइन। यो साझा सम्पदा हो, जसको शुद्धता सबै नागरिक अझ नेताहरूले विशेष ध्यान राख्नुपर्छ। यस्ता राजनीतिक अभियानले जनमत निर्माण त होलान् सँगसँगै भाषा बरबाद पार्ने जोखिम पनि बोकेका हुन्छन्। त्यसैले ‘म झोले हुँ’ भनेर सही ढंगले लेख्न नसक्नेहरूबाट भाषा जोगाउने अपेक्षा निरर्थक हुन्छ।

कनै पनि समाजलाई चिनाउने त्यो देशको भाषा, सभ्यता र संस्कृतिले हो। यी तीन कुरा रहेन भने न देश रहन्छ न त जातीय चिनारी। यो कुरालाई प्रधानमन्त्रीको कुर्सीमा रहेका व्यक्तिबाट ख्याल गरिएको पाइएन। जे भए पनि अभियान सुरु भइसकेको छ। एमालेको अभियानको प्रतिरोधमा अन्य दलले पनि यस्तै अभियान थाले भने थप बहसको विषय बन्नेछ। मुख्य कुराचाहिँ एमालेजनले आफूलाई ‘म झोले हो’ भन्दै गर्दा भाषा नबिगारून्। उनीहरूमाथि ‘भाषा बिगार्ने झोलेहरू’  भन्ने आरोप नलागोस्। साथै उनीहरूको बाँकी जीवन झोलामा नसकियोस्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार