भारतको वित्तीय राजधानी मुम्बई सहरमा हालै हजारौँ मानिसहरूले आफूहरूलाई फेरि एक पटक ‘फसेको, रुझेको र निराश’ पाएपछि यो प्रश्न पुन: टड्कारो भएर तेर्सियो।
ठूलो वर्षा भएपछि मुम्बई महानगर ठप्प भयो। अनि खास वर्षा याम सुरु हुनै नपाईकन यी विनाश भए। सडक खोलामा परिणत भए, गाडीहरू बीच बाटोमै बिग्रिए र अलि होचो स्थानका बस्ती केही घण्टामै जलमग्न भए।
हालै निर्मित नयाँ भूमिगत मेट्रो स्टेशनले समेत भारी वर्षालाई झेल्न सकेन। लेदो पानीले स्टेशन जलमग्न भएका फोटो र भिडिओ भाइरल भए।
मुम्बईको संरचना मर्मत सम्भारको जिम्मा पाएको ब्रिहन्मुम्बई महानगरपालिका (बीएमसी) भारतको सबभन्दा धनी निकायहरूमा पर्छ। यसपालिको नोक्सानीका लागि सुरुमा उसले ढल निकासमा फोहर जम्मा भएको अनि मेट्रो निर्माण गर्दा थुप्रिएको फोहरले पानी जमेको भनेर जबाफ दिएको हिन्दुस्तान टाइम्स पत्रिकाले उल्लेख गर्यो।
धेरै आलोचना भएपछि बीएमसीले डुबान हुनसक्ने ठाउँहरूमा पानी फ्याँक्ने पम्प जडान गर्यो र फोहर सफा गर्न थाल्यो। तर धेरैका निम्ति उसको त्यो कार्य निकै ढिलो हुन पुग्यो।
यो सङ्कट न नयाँ हो न केवल मुम्बईमा मात्र यस्तो हुन्छ।
उत्तरमा दिल्लीदेखि दक्षिणमा बङ्गलुरुसम्म भारतका महानगरहरू हरेक मनसुनमा डुबानमा पर्छन्। सडकहरू भत्किन्छन्, निकास अवरुद्ध हुन्छ, संरचनाले थेग्न सक्दैनन्, अनि सवारी आवागमन ठप्प हुन पुग्छ।
को दोषी?
विज्ञहरूले यसको दोष विना योजना द्रुतगतिमा भएका सहरीकरण, कमसल संरचना अनि वर्षौँदेखि बेवास्ता गरिएका वातावरणीय पक्षलाई दिने गर्छन्।
“सहर विस्तारको गति आवश्यक संरचना विकासभन्दा निकै धेरै छ,” दिल्लीस्थित सहरी योजनाविद् दिक्षु कुक्रेजाले भने।
सबै सहरका लागि एकै किसिमको समाधान नहुने विज्ञहरू बताउँछन्। हरेक सहरका आफ्नै किसिमका जनसङ्ख्या, भूगोल, र वातावरण हुने हुनाले समाधान पनि त्यही किसिमको हुनु पर्ने उनीहरूको भनाइ छ।
भारतमा वर्षभरिको कुल वर्षामध्ये ८० प्रतिशत मनसुन याममै हुने गर्छ। यो याम जुनदेखि सेप्टेम्बरसम्म रहन्छ।
कृषिका निम्ति अनि करोडौँ किसानको जीविकाका निम्ति मनसुन अत्यधिक महत्त्वपूर्ण छ। उचित सिँचाई नभएका ठाउँमा मानिसहरू आकासे पानीमै निर्भर छन्।
तर जलवायु परिवर्तनका कारण मौसम खलबलिएको छ – बेमौसमी वर्षा, अचानक आउने बाढी, र अधिक गर्मीका कारण हुने सुक्खा – अचेल धेरै देखा पर्न थालेका छन्।
यो वर्ष मनसुन अलि चाँडै नै आइपुग्यो। सहरका अधिकारीहरूले तयारी गर्न नपाएको देखियो।
दिल्लीको मिन्टो पुल सहरले बर्सेनि झेल्ने बर्खाको समस्याको एक प्रतीक नै बनेको छ। हरेक वर्ष ठूलो पानी पर्नासाथ पुलमुनि कुनै बस वा ट्रक फस्छ – सहरी बाढीसँगको सङ्घर्षको प्रतीक तस्बिर त्यसले देखाइरहन्छ।
दिल्लीमा यो वर्षको मे महिना सन् १९०१ यताकै सबभन्दा धेरै पानी परेको मे महिना हुन पुग्यो – १८५ मिलिमिटर वर्षासहित।
कैयन् बासिन्दाको सम्पत्ति नष्ट भएका विवरण आए।
कम्तीमा चार जनाको ज्यान गयो भने थप दर्जनौँ घाइते भए।
बङ्गलुरुको दु:ख
दिल्लीबाट करिब २ हजार किलोमिटर दक्षिणको बङ्गलुरु सहरमा पनि उस्तै मूल कारणले समस्या निम्तियो।
कुनै बखत बङ्गलुरुमा भएका ताल तलैयाले अधिक वर्षाको पानी व्यवस्थापन गर्थे।
तर हालैका वर्षहरूमा तिनको अतिक्रमण भयो। तिनका ठाउँमा बडा बडा अपार्टमेन्ट कम्प्लेक्स, व्यापार केन्द्र एवं सडक बनेका छन्। अनि सहर बाढीको जोखिममा परेको छ।
“जब तपाईँ तालहरूलाई – जसले प्राकृतिक रूपमा बाढीलाई थेग्छन् – बदल्नु हुन्छ र त्यहाँ निर्माण गर्नुहुन्छ तब पानीले जाने ठाउँ भेट्दैन। त्यसैले बङ्गलुरुमा अहिले देखिएको भनेको कमजोर सहरी योजनाको परिणाम हो,” ताल संरक्षण अभियानकर्मी राम प्रसादले भने।
मुम्बईको हकमा उसको भूगोलले पनि चुनौती थपिदिएको छ। मुम्बईका अधिकांश भाग होचो स्थानमा र समुद्र नजिकै छन् जसले तिनलाई डुबानको जोखिममा पार्छन्।
तर त्यहाँ पनि मानव क्रियाकलापले समस्या झन् चर्काइदिएको विज्ञहरू बताउँछन्। म्यानग्रोभ भनिने त्यहाँका सीमसारजस्ता क्षेत्रले बाढीलाई प्राकृतिक रूपमा रोक्थ्यो। तर तिनको विनाश अनि पानी निकास हुने स्थलमा भएका निर्माणले समस्या बढेको उनीहरूको भनाइ छ।
ठूला महानगर मात्र नभई साना नगरहरू पनि यस्तै समस्याबाट ग्रसित छन्।
गत सप्ताहान्तमा भारतका पूर्वोत्तर राज्यहरूमा ठूलो वर्षाले निम्तिएको बाढी पहिरोमा परी कम्तीमा ३० जनाको ज्यान गयो भने दशौँ हजार प्रभावित भए।
उसो भए यसको समाधानका लागि केही गर्न सकिन्छ?
“हो, सकिन्छ,” कुक्रेजा भन्छन्। तर त्यसकालागि दीर्घकालीन र समन्वयपूर्ण रणनीति आवश्यक हुने उनले बताए।
स्थानहरूको नक्साङ्कन गरेर उच्च जोखिम भएका क्षेत्र पहिचान गरी समुदायहरूलाई सचेत गराउन उनले सुझाव दिए।
“तर प्रविधिले मात्र पुग्दैन त्यसका लागि चाँडो प्रतिक्रिया दिन सक्ने शासन प्रशासन र समुदायको संलग्नता जरुरी हुन्छ,” उनले भने।
भारतका सहरहरूले वर्षा थेग्ने हो भने पानी फ्याँक्ने पम्पले मात्र वा अल्पकालीन समाधानले मात्र पुग्दैन। त्यसका लागि भावी स्थिति आकलन सहितको योजना जरुरी हुन्छ।
प्रतिक्रिया दनुहोस्