काठमाडौं : सरकारले तोकेको समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसानले ठूलो घाटा व्यहोर्न बाध्य भएका छन् ।
सरकारले चालु आर्थिक २०८१/८२ को लागि चैते धानको लागि प्रति क्वीन्टल २ हजार ८ सय ६९ रुपैयाँ तोकेको छ । तर बजारमा अहिले यो धान प्रतिक्वीन्टल १ हजार ६ सय २५ रुपैयाँमा बिक्री हुन नपाएर कुहिने अवस्थामा पुगेको छ ।
अखिल नेपाल किसान महासंघले विज्ञप्ति जारी गर्दै सरकारले समर्थन मूल्य घोषणा गर्ने तर बजारमा बिक्री हुन नसकेको कृषि उपज सरकारले खरिद नगरिदिने प्रवृतिका कारण किसान राज्यबाटै ठगिएको आरोप लगाएको छ ।
महासंघका अध्यक्ष डा.प्रेम दंगालले सरकारको यो रवैयाका कारण किसानहरु पटक पटक राज्यबाट ठगिएको बताए ।
‘सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई बारम्बार झुक्याउने, हरेक क्षण हतोत्साही र निराशा बनाउने प्रवृति आपत्तिजनक छ,’ दंगालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ,‘सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेपछि धान उत्पादन हुनासाथ उक्त मूल्यमा खरिद गर्ने सुनिश्चित गर्नु पर्छ ।’
महासंघका अनुसार बजारमा निजी क्षेत्रका व्यापारीले आफुखुशी उक्त चैते धान १ हजार ५ सयदेखि १ हजार ६ सय २५ रुपैयाँमा बिक्री गर्न किसानलाई बाध्य पारेका छन् ।
महासंघले किसानले उत्पादन गरेको कृषि उपज बजारमा बिक्री हुन नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत तोकिएको समर्थन मूल्यमा खरिद गर्न चासो नदिएको औल्याएको छ ।
‘किसानबाट खरिद गरी भण्डारण गर्ने र आवश्यकताअनुसार वितरणको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसमेत रहेको छ,’ बिज्ञप्तीमा भनिएको छ,‘जनताको करबाट सञ्चालित यो संस्थाका साथै कृषि विकास मन्त्रालयको हुनुको औचित्य र जवाफदेही खैं ? उत्पादित खाधान्नलाई व्यवस्थापन गर्न नचाहने तर अर्बौको आायत गर्न तयार हुने बिषयले सरकारको गैरजिम्मेवारीपन पुष्टि गर्छ ।’
सरकारले बजेटमार्फत वर्षेनी बजार अभाव भएको अवस्थामा खाद्य तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गर्ने व्यवस्था मिलाउने घोषणा गर्दै आएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत पनि सरकारले बजार अभाव भएको अवस्थामा उक्त कम्पनीले खरिद गर्ने र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दनुहोस्