काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादीको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्रीबाट रमेश लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको छ । गृहमन्त्रीको राजीनामा माग्दै संसद्को बैठकमा माओवादीसहितका विपक्षीले अवरोध गर्दै आएका छन् ।
सोमबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणको छानिबनका लागि गृहमन्त्रीबाट लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छ कि छैन भन्ने यकिन गर्न पनि लेखकले राजीनामा गर्नुपर्ने माओवादीका उपमहासचिव वर्षमान पुनले बताए ।
‘गृहमन्त्री, गृहसचिव, डीजीहरू, कार्यालय प्रमुख को तानिन्छ भन्ने त अनुसन्धानपछि थाहा हुन्छ । जो तानिए पनि तानिन्छ तर हिजोका के, अस्तिका के भन्दै आजका विषयलाई विषयान्तर गर्न मिल्दैन, ‘संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै पुनले भने, ‘आजको तथ्य के स्थापित छ भने त्रिभुवन विमानस्थल अध्यागमनमा अनियमितता भएको छ, त्यहाँ सेटिङमा काम भएको छ, भिजिट भिसा प्रकरणमा हजारौं मान्छे सेटिङमा छुटाइएको छ । जो सेटिङमा पर्दैनन् त्यसलाई फिर्ता गरिएको छ दुःख दिइएको छ जेन्युइन मान्छेलाई । यो विषयको छानबिन हुनुपर्छ । छानबिन गर्नुको अर्थ गृहमन्त्री दोषी भनेको छैन । तर छानबिन अगाडि उहाँले राजीनाममा गरेर मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको प्रतिपक्षको निर्णय हो ।’
भिजिट भिसा र गृहमन्त्रीको संलग्नता अनि संसद्को बैठकका विषयमा थप छलफल गर्न मंगलबार विपक्षी दलहरूको बैठक बस्ने पनि पुनले जानकारी दिए । गृहमन्त्री लेखकले संसद्मा कुरा राख्न पाउनुपर्ने, पार्टीले धारणा राख्न पाउनुपर्ने तर अनुसन्धान पहिले राजीनामा गरेर मार्गप्रशस्त हुनुपर्ने निष्कर्ष निकालिएको पनि पुनले स्पष्ट पारे ।
प्रतिक्रिया दनुहोस्