धनगढी । सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेजमा अध्ययनरत छात्रा टेरेसा जोराले त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस दोस्रो वर्षको नतिजामा सुदूरपश्चिम प्रदेशमै सर्वोत्कृष्ट अंकसहित टप गर्न सफल भएकी छन् । उनले ७५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरबाट उत्कृष्ट नतिजा ल्याएकी हुन् ।
उक्त सफलतालाई सम्मान गर्नका लागि एसपीए कलेजले एक विशेष कार्यक्रम आयोजना गरेको थियो। कलेजको सभा हलमा आयोजित सो कार्यक्रममा टेरेसालाई अबिर, फूल मालासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै टेरेसाका बुवा तथा एसपीए कलेजकै प्राध्यापक डी.बी. जोराले छोरीको सफलताले आफू अत्यन्तै हर्षित भएको बताए । उनले सम्पूर्ण विद्यार्थीहरूलाई पनि निरन्तर प्रयास गर्न प्रेरणा दिएका थिए ।
त्यस्तै, विद्यार्थी परिषद्का उपाध्यक्ष भुवन विष्टले टेरेसाको सफलता एसपीए कलेजको गुणस्तरीय शिक्षा, कुशल व्यवस्थापन र शिक्षक–शिक्षिकाको समर्पणको प्रतिफल भएको उल्लेख गरे। उनले भने, ‘टेरेसाको उपलब्धिले एसपीए कलेज सुदूरपश्चिमकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको छ।’
क्याम्पस प्रमुख योगराज गौतमले पनि टेरेसाको निरन्तर परिश्रम, कलेजको शैक्षिक प्रतिबद्धता र व्यवस्थापकीय समन्वयकै कारण यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको बताए। उनले सम्पूर्ण विद्यार्थीहरूलाई टेरेसाबाट प्रेरणा लिन आग्रह गर्दै भने, ‘एसपीए कलेज सधैँ विद्यार्थीहरूको साथमा छ, चाहे उनीहरू सफल हुन्, असफल वा प्रयासरत। समग्र रूपमा हेर्ने हो भने पनि अन्य सङ्काय र कार्यक्रमहरूमा पनि यस अघिको नतिजा समेत राम्रो आएको छ । तथापि हामीले मिहेनत गर्नु पर्ने ठाउँहरू पनि अवश्य छन् ।’
त्यसै गरी, प्रदेश टपर टेरेसा जोराले आफ्नो सफलतामा साथ दिने आमाबुवा, शिक्षक–शिक्षिका, साथीहरू र कलेज परिवारप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, ‘१०+२ देखि नै एसपीए कलेजसँग जोडिएकी छु। यहाँको माहौल, साथ र सहयोगले मलाई यो स्तरसम्म पु¥याएको हो। आगामी दिनहरूमा पनि उत्तिकै मिहिनेत गर्नेछु।’
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको छ भने एसपीए कलेजको शैक्षिक क्षमतामा थप विश्वास दिलाएको छ।
प्रतिक्रिया दनुहोस्