काठमाडौँ — आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले एक कित्ता हजार अंकित दरका ५ अर्ब रूपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
‘निष्काशित सेयरमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाा बराबरको ३० लाख कित्ता ऋणपत्र संस्थागत तबरबाट बाँडफाँट गरिनेछ,’ उनले भने, ‘बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।’
‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८/८९’ नामक उक्त ऋणपत्रको परिपक्को अवधि ७ वर्ष रहेको छ । प्रतिकित्ता एक हजार रुपैयाँ मूल्य रहेको उक्त ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको पनि बैंकले जनाएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा १८ जेठ देखि २१ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा आवेदन अवधि असार १ गतेसम्म लम्बिने छ ।
इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्राप्त गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दनुहोस्