रोल्पा — रोल्पाको खुमेलमा १३ दिनको पूण्य तिथि (शुद्ध कार्य) का अवसरमा पकाएको खाना खाँदा १ सय १० जना बिरामी भएका छन् । स्थानीय एक जना बृद्धको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रसादको रूपमा पकाइएको खाना खाँदा आगन्तुकहरु बिरामी परेका हुन् ।

प्रहरीका अनुसार पूण्य तिथिका अवसरमा शनिबार भेला भएर खाना खाएका १ सय ५० जना मध्ये १ सय १० जना बिरामी भएका थिए । बिरामीलाई रातिसम्म रेउघास्थित रोल्पा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
‘बिरामीमध्ये अधिकांशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। धेरै बिरामी परेकालाई अस्पतालमा पठायौं,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले भने ।
रोल्पा नगरपालिका-३ चौरपानी स्थित तिलप्रसाद रोकाको घरमा उनकै ठूलो बुवा चित्रबहादुर रोकाको १३ औं पूण्य तिथिको अवसरमा खानपिन कार्यक्रम आयोजना गरिएको थियो । खाना खाएकाहरु दिउँसो ३ बजेदेखि बिरामी भएका थिए । बिरामी भएका अधिकांशले दालभात, तरकारी, पुरी, अचार खाने बित्तिकै उल्टी (वान्ता) गरेका थिए ।
घटनापछि १ सय २ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो भने गम्भीर अवस्थाका १२ जनालाई राति अबेरसम्म रोल्पा अस्पतालमा पठाइएको थियो ।
प्रतिक्रिया दनुहोस्