आन्तरिक राजश्व विभागले ताप्लेजुङका एक सय तथा पाँचथरका एक सय ३२ करदाताहरूको दर्ता निलम्बन तथा करकट्टी रोक्का गरेको छ । लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गर्दै आन्तरिक राजश्व विभागले त्यस्ता करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्ने तथा निजको दर्ता समेत निलम्बन गर्ने निर्णय लिएको हो ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १७ को उपदफा(८)बमोजिम आन्तरिक राजश्व विभागले दर्ता निलम्बन तथा करकट्टी रोक्का गर्ने निर्णय गरी करदाता सेवा कार्यालय पाँचथरमार्फत दुबै जिल्लाका स्थानीय तहलाई जानकारी गराएको छ । करदाता सेवा कार्यालय पाँचथरका कार्यालय प्रमुख बद्रीप्रसाद भेटवालले पाँचथर र ताप्लेजुङका सबै स्थानीय तहलाई पत्र लेख्दै आन्तरिक राजश्व विभागले दर्ता निलम्बन तथा करकट्टी रोक्का भएका करदाताहरूको नामावली समेत पठाइएको जानकारी दिए ।
भेटवालका अनुसार जानकारी तथा प्रचारप्रसारका लागि दुबै जिल्लाका स्थानीय तहहरूलाई दर्ता निलम्बन तथा करकट्टी रोक्का भएका करदाताहरूको नाम नामेसी सहितको विवरण पठाइएको छ । आन्तरिक राजश्व विभागले गत बैशाख ११ गते सार्वजनिक सूचना आह्वान गर्दै आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी १५ दिन भित्र करदातालाई कर विवरण बुझाउन भनेको थियो । यही जेठ ७ गते सम्ममा पनि कर विवरण नबुझाएका करदाताको आन्तरिक राजश्व विभागले दर्ता निलम्बन तथा करकट्टी रोक्का गर्ने निर्णय लिएको हो ।
आन्तरिक राजश्व विभागले दर्ता निलम्बन तथा करकट्टी रोक्का भएका करदातासँग खरिद वा बिक्री कारोबार नगर्न भनेको छ । निलम्बनमा भएका करदाताले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि निलम्बन सूचीबाट स्वतः हट्ने व्यवस्था मिलाइएको आन्तरिक राजश्व विभागले जनाएको छ ।
दर्ता निलम्बन भएका करदाताको निलम्बनमा परेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारी सम्बन्धी कारोबार रोक्काका लागि आन्तरिक राजश्व विभागले भन्सार विभागलाई पत्र समेत लेखेको छ । विभागले कुनै करदाताको दर्ता निलम्बन हुनु नपर्ने अवस्था भएको भए वा निलम्बन तथा करकट्टी रोक्का सम्बन्धी निर्णयमा कुनै दाबी विरोध भए सम्बन्धित क्षेत्रको करदाता सेवा कार्यालयमा सम्पर्क राख्न भनेको छ ।
प्रतिक्रिया दनुहोस्