काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर-१ आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच मुल्लांपुरको महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय स्टेडियममा खेलिँदैछ। आईपीएल इतिहासमा यी दुई टोली पहिलो पटक प्लेअफ चरणको प्रतिस्पर्धामा भिड्दैछन्। यस सिजनमा यी टोलीहरू तेस्रो पटक आमने-सामने हुन लागेका हुन्। यसअघिका दुई भेटमा दुवै टोलीले एक-एक खेल जितेका थिए।
आईपीएल इतिहासमा बेंगलुरु र पञ्जाबबीच हालसम्म ३५ खेल भएका छन्। जसमध्ये पञ्जाबले १८ खेल जितेको छ भने बेंगलुरुले १७ खेलमा जित हासिल गरेको छ। महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय स्टेडियममा यी दुई टोली दोस्रो पटक भिड्दैछन्। यसअघि यस मैदानमा भएको खेलमा बेंगलुरुले पञ्जाबलाई ७ विकेटले पराजित गरेको थियो।
यहाँको पिच ब्याटिङका लागि अनुकूल मानिन्छ, जसले उच्च स्कोरका खेलहरूलाई प्रोत्साहन गर्छ। यस मैदानमा हालसम्म आईपीएलका ९ खेल खेलिएका छन्, जसमा ५ खेल पहिले ब्याटिङ गर्ने टोलीले र ४ खेल लक्ष्य पछ्याउने टोलीले जितेका छन्। यस मैदानमा पञ्जाबले चेन्नई सुपर किंग्सविरुद्ध यसै सिजन बनाएको २१९/६ को स्कोर नै सर्वाधिक हो।
पञ्जाबको ब्याटिङ लाइनअप बलियो रहेको छ, विशेषगरी ओपनरहरूको प्रदर्शन उत्कृष्ट छ। प्रभसिमरन सिंह र प्रियांश आर्या को जोडीले यस सिजनमा १७३.४९ को स्ट्राइक रेटमा कुल ९२३ रन बनाएका छन्। टोलीको शीर्ष-३ ब्याट्सम्यानहरूले १७७.०२ को स्ट्राइक रेटमा १४१८ रन बटुलेका छन्, जसमा एक शतक र ११ अर्धशतक समावेश छन्।
नेहल वधेरा र शशांक सिंहले पनि टोलीका लागि महत्त्वपूर्ण इनिङ्स खेलेका छन्। पञ्जाबका कप्तान श्रेयस अय्यर टोलीका शीर्ष स्कोरर हुन् । जसले १४ खेलमा ५१४ रन बनाएका छन् र उनको उत्कृष्ट प्रदर्शन अविजित ९७ रन रहेको छ। बलिङतर्फ, अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्, जसले १४ खेलमा १८ विकेट लिएका छन्।
बेंगलुरुका लागि विराट कोहली को उत्कृष्ट फर्म सकारात्मक पक्ष हो। उनी यस सिजनका १३ खेलमा ६०.२० को औसत र १४७.५१ को स्ट्राइक रेटमा ६०२ रन बनाइसकेका छन्, जसमा ८ अर्धशतक समावेश छन्। कोहली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। बलिङतर्फ, जोश हेजलवुड टोलीका प्रमुख विकेट टेकर हुन्, जसले १० खेलमा कुल १८ विकेट लिएका छन्। यो रोमाञ्चक क्वालिफायर-१ मा कुन टोलीले फाइनलमा स्थान बनाउला, हेर्न बाँकी नै छ।
प्रतिक्रिया दनुहोस्