अत्तरिया– कैलालीको अत्तरियामा जिल्लास्तरिय स्कुल डान्स कम्पीटिसन हुने भएको छ । अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो र वन वे डान्स क्याम्पले यही जेठ २० गतेदेखि आधारभूत तहको एकल नृत्य प्रतियोगिता आयोजना गर्न लागेका हुन । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएका छन । गत वर्ष नगरस्तरिय प्रतियोगिता सुरु गरेको आयोजकले यस वर्ष जिल्लास्तरिय प्रतियोगिता आयोजना गरेको हो ।
गत वर्षको दोस्रो सिजनका रुपमा प्रतियोगिता आयोजना गरिएको आयोजक क्युरिक्स डान्स स्टुडियोका सञ्चालक हरिश कडायतले जानकारी दिए । प्रतियोगितामा जिल्लाका कक्षा ३ देखी कक्षा ८ सम्मका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने उनले बताए । उनका अनुसार आधारभुत तहसम्मका विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सम्मेलनमा बोल्दै वन वे डान्स क्याम्पका सञ्चालक नरेश बि.क ले जेठ २० गतेदेखी प्रतियोगिता साउन २० गतेसम्म सञ्चालन हुने बताए । उनले प्रतियोगितामा २० गतेदेखी विद्यालयस्तरमै गएर अडिसन लिईने र मुख्य अडिसन जेठ ३१ गते तेघरी स्थित पार्टनर पार्टी प्यालेसमा लिईने बताए ।
पार्टी प्यालेसमा सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ३० हजार १५१ रहेको छ भने द्धितिय पुरस्कार नगद रु. २० हजार १५१ र तृतिय पुरस्कार नगद रु. १० हजार १५१ रहेको छ । प्रतियोगिताको टप ५ मा पर्ने प्रतियोगिहरुलाई पनि केही सान्त्वना स्वरुप पुरस्कारको व्यवस्था रहेको उनले बताए । उनका अनुसार प्रतियोगिताको टप ५ मा पर्न सफल प्रतियोगिहरुलाई ३ महिना सम्म वन वे डान्स क्याम्पमा निःशुल्क नृत्य सिकाईने छ । त्यस्तै टप १० मा पर्न सफल प्रतियोगिहरुलाई भने एक दिने सामाजिक अवलोकन भ्रमण र धनगढी डान्स च्याम्पीयनसिप सिजन ४ को सिधै कोरियोग्राफी राउन्डमा सहभागी गराईने समेत उनले बताए ।
निःशुल्क प्रवेश रहेको प्रतियोगितामा जिल्लाभरका करिब २ हजार बढी विद्यार्थीहरु सहभागी हुन सक्ने आयोजकले आंकलन गरेको छ । प्रतियोगितामा निजि तथा सरकारी सबै विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्