मुगुको खत्याड गाउँपालिका–४ का ५४ वर्षीय भिउदल बुढा १५ वर्षदेखि बर्सेनि पाटन उक्लेर यार्चा टिप्दै आएका छन् । यसै साता पत्नी दुर्गा र दुई छोरासहित पाटन जाने तयारीमा रहेका उनमा केही वर्षयता भने यार्चा कम पाइने र पुरानै मूल्यमा बेच्नुपर्दा खिन्नता बढेको छ ।
गत वर्ष झन्डै ५० हजारजति लगानी गरेर पाटन पुगेको बुढाको परिवारले १ लाख २० हजारभन्दा बढी आम्दानी गर्न सकेन । ‘नजाउँ भने वर्षौंदेखि गरिरहेको काम, जाउँ भने अनकन्टार ठाउँमा ठूला–ठूला भीरपहरा छिचोलेर जानुपर्छ,’ उनले भने, ‘लेक लागेर ज्यानै जोखिममा पर्छ, तर दुःखअनुसारको पैसा उठे पनि नउठे पनि अरू व्यवसाय नहुँदा पाटन जानुको विकल्प छैन ।’
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१ स्यालाखदीका ५९ वर्षीय प्रेमबहादुर पुन पनि दुई दशकदेखि यार्चा टिप्न पाटन गइरहेका छन् । उनको वर्षभरिको घरखर्चसहित ३ छोराछोरीको पढाइ खर्च यार्चा बेचेर आएको रकमबाटै चलिरहेको छ । उनले पनि सदरमुकाम मुसीकोटमा यार्चा बेचेको कमाइबाट एउटा कच्ची घर जोडेका छन् । गत वर्ष बन्दोबस्तीका सामानसहित झन्डै ७० हजार रुपैयाँ खर्च गरी डोल्पाको कागमारा र नाउरे पाटनमा पुगेका पुन दम्पतीले डेढ लाख रुपैयाँ आम्दानी गरे । ‘बूढाबूढी मिलेर पोहोर साल १ सय ७० वटा जति यार्चा संकलन गरेका थियौं, डेढ सय यार्चा प्रतिगोटा हजार रुपैयाँका दरले पाटनमै बिक्री गर्यौं, बाँकी यार्चा आफन्तलाई कोसेली पठाउन घर ल्याइयो,’ उनले भने, ‘पाटनमा त्यत्रो दुःख गरी गइन्छ, तर यार्चा सोचेजति पाउनै मुस्किल छ ।’
अन्तर्राष्ट्रिय बजारमा यार्चाको मूल्य र माग बढिरहे पनि प्रतिगोटा एक हजार रुपैयाँभन्दा बढी कहिल्यै भाउ नपाउने संकलकका गुनासो छन् । ‘२२ लाख किलो हुँदा पनि त्यही रेट थियो, ३२ लाख पुग्दा पनि उही हजार छ, हामीले त बढी रकम कहिल्यै पाएनौं,’ पुनले भने, ‘खाद्यान्न, लत्ताकपडालगायत बन्दोबस्तीका सामानको मूल्य बढेको बढ्यै छ, यार्चा भने ७/८ वर्षदेखि एउटै भाउमा बेचिरहेका छौं ।’
कर्णालीका मुगु र डोल्पाका विभिन्न पाटनमा यार्चा पाइन्छन् । यार्चागुम्बा संकलनका लागि व्यापारी पाटनमै पुग्छन् । पाटनमा बर्सेनि ७ सयदेखि १ हजार रुपैयाँमा यार्चा खरिद गर्ने गरेको जडीबुटी व्यवसायी यज्ञबहादुर बुढथापाले बताए । उनका अनुसार गुणस्तर हेरेर कर्णालीमा दुई किसिमका यार्चा उत्पादन भइरहेको छ । ‘यहाँको ९० प्रतिशत यार्चाको बजार चीन नै हो, हामीले खरिद गरेको यार्चा चिनियाँ व्यापारी नआउँदासम्म गोदाममै थन्क्याउनुपर्छ,’ उनले भने, ‘उनीहरू आएपछि दर निर्धारण गरेर मात्र हाम्रो यार्चा बिक्ने हो, हामीले पनि जोखिम मोलेरै किन्ने भएकाले एक हजारभन्दा बढी मूल्य दिन नसकेका हौं ।’
भारत र चीनमा भने अहिले प्रतिकिलो ५० देखि ८० लाख रुपैयाँमा यार्चाको कारोबार भइरहेको उनको भनाइ छ । केही व्यापारी भने यार्चाको मूल्य निरन्तर घटिरहेको दाबी गर्छन् । डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले अघिल्लो वर्ष २७ लाख रुपैयाँ प्रतिकिलोमा यार्चा बिक्री गरे भने गत वर्ष मुस्किलले २२ लाखमा मात्र बिक्री भएको बताउँछन् ।

कोरोनाअघिसम्म उनले ३२ लाख रुपैयाँमा यार्चा बिक्री गरेको सुनाए । ‘चीनमा सोझै लगेर बेच्न पाए बढी भाउ पाइन्थ्यो, काठमाडौंमा आएका व्यापारीले जतिमा भन्छन्, त्यतिमा दिनुपर्ने बाध्यता छ,’ उनले थपे, ‘पछिल्लो समय बढी गुणस्तरको यार्चा भेटिन छाडेको छ, पोटी नलागेको यार्चाका कारण भाउ निरन्तर घटिरहेको हो ।’ उनका अनुसार एक किलोमा २ हजार ५ सय गोटासम्म यार्चा चढ्छ । चीनमा प्रतिकिलो झन्डै ६० लाखमा यार्चाको किनबेच हुने उनी बताउँछन् । बर्सेनि यार्चाको उत्पादन घट्दै जाँदा स्थानीयले सोचेजस्तो आम्दानी गर्न नसकेको डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले बताए । ‘परम्परागत खेतीकिसानी र पशुपालनमा निर्भर स्थानीयको रोजीरोटीको प्रमुख माध्यम यार्चा संकलन नै हो,’ उनले भने, ‘तर पाटन जाँदाको दुःख नउठ्ने समस्याले स्थानीय निराश छन् ।’
यार्चा टिप्न २०५२ देखि पाटन जान थालेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का सूर्यबहादुर बुढाका अनुसार त्यसबेला प्रतिकिलो ६० हजार रुपैयाँमा यार्चा बिक्री हुन्थ्यो । २०५८ सम्म त्यही आसपासमा बिक्री भएको यार्चा त्यसपछि ह्वात्तै बढेर डेढ लाख रुपैयाँ प्रतिकिलोसम्म पुगेको उनी बताउँछन् । बर्सेनि यार्चाको मूल्य बढिरहे पनि उत्पादन घट्दै गएकाले अधिकांश संकलकको दुःख र लगानी नउठ्ने गरेको उनको भनाइ छ ।
‘त्यहाँ जाँदा–आउँदाको दुःखको त कुरै नगरौं, पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुने भएकाले ज्यानकै बाजी थापेर भीरपहारामा रातारात हिँड्नुपर्छ,’ सूर्यबहादुरले भने, ‘योपालि पनि पानी कम परेको छ, त्यसैले यार्चा पनि कम उत्पादन भएको अनुमान छ ।’ डोल्पामा यो वर्ष जेठ ५ देखि यार्चा संकलन सुरु भएको छ । डिभिजन वन कार्यालयमार्फत सामुदायिक वनका ४१ वटा र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका २१ वटा पाटनमा यार्चागुम्बु संकलन भइरहेको डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले बताए । उनका अनुसार अहिलेसम्म झन्डै चार हजार स्थानीय यार्चा टिप्न विभिन्न पाटनमा पुगेका छन् ।
गत वर्ष डिभिजन वनमार्फत ४ किलो र निकुञ्जमार्फत ६४ किलो यार्चागुम्बुको छोडपुर्जी जारी भएको थियो । डोल्पामा रूपपाटन, चिनाराङ्सी, माझडाँडा, तुरी, बगर, माझधारी, बाटुलीले, काँडा, फुर्के, ज्ञाने, जैरी, साइकुमारीलगायत पाटनमा अहिले यार्चा टिप्न स्थानीयको घुइँचो छ । मुगुको मुगमकार्मारोङ गाउँपालिकाले भने जेठ १३ देखि पाटन खुलाउने भएको छ । पालिकाले स्थानीयका लागि २ हजार र बाहिरी जिल्लाका संकलकका लागि २ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको छ ।
गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले कर्णालीको यार्चाको भाउ चिनियाँ व्यापारीको भरमा निर्धारण हुने गरेको बताए । उनका अनुसार कतिपय संकलकले भाउ नपाउँदा गत वर्ष संकलन गरेको यार्चासमेत बिक्री गर्न सकेका छैनन् । गत वर्ष मुगमकार्मारोङमा झन्डै ७ हजारले यार्चा संकलन गरेको उनले बताए । गत वर्ष संकलकबाट ६९ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
डोल्पामा यार्चा टिप्न गएका दुई जना संकलकको एक सातायता मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित मध्यवर्ती पाटनमा पुगेका जुम्लाको गुठीचौर गाउँपालिका–१ का भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको हो । त्यस्तै जुम्लाकै तातोपानी गाउँपालिका–८ टोप्लागाउँकी २७ वर्षीय कल्पना शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ । उनी तातोपानी गाउँपालिका–८ स्थित सुब्बाकुना पाटनमा यार्चा टिप्न गएकी थिइन् । पाटनमा यार्चा खोजिरहेकै अवस्थामा उनलाई चट्याङ लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष डोल्पामा ८ र मुगुमा ६ संकलकको लेक लागेर मृत्यु भएको थियो भने विभिन्न पाटनमा गएका ४३ जनालाई उद्धार गरिएको थियो । ३ वर्षको अवधिमा यार्चा संकलनका लागि ३९ जनाले ज्यान गुमाएको कार्यालयको तथ्यांक छ ।
गत वर्ष कर्णालीबाट झन्डै २ सय १४ किलो यार्चा बाहिर निकासी भएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । जबकि गत वर्ष ३ सय ५ र अघिल्लो आर्थिक वर्षमा ४ सय १ किलो यार्चा उत्पादन भएको थियो । त्यस्तै कोरोना महामारीअघि २०७५/७६ मा १ हजार २ सय १४ किलो यार्चाको छोडपुर्जी जारी भएको निर्देशनालयको तथ्यांक छ । कोरोना महामारीमा लगातार ३ वर्ष यार्चा नटिप्दा पनि त्यसको असर प्रजनन प्रक्रियामा परेको वनस्पतिविद् कमल शर्माले बताए । ‘उत्पादन त बर्सेनि घट्दै गएकै छ, त्यसमा पनि संकलक र व्यापारीले बजारको समस्या पनि भोग्न बाध्य छन्,’ उनले भने, ‘अनुकूल वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वन विनाश, जलवायु परिवर्तनको प्रभाव, आगलागीलगायत कारण जडीबुटीको उत्पादन घट्दै गएको छ ।’ खेतीयोग्य जमिनको कमी, भएको जमिनमा सिँचाइको अभाव, अन्य पेसा नहुनु, कुनै पनि आम्दानीका स्रोत नहुनुजस्ता बाध्यताले पहाडी र हिमाली क्षेत्रका बासिन्दा बर्सेनि जोखिम मोलेर यार्चा खोज्न पाटन जाने गरेको उनको भनाइ छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यार्चा संकलनलाई व्यवस्थित, कम जोखिमयुक्त र उपयुक्त बजारीकरणसहितको बनाउन कार्ययोजना निर्माणको काम भइरहेको बताए । ‘प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र कर्णालीको समृद्धिका लागि पनि यहाँको जडीबुटीको संरक्षण र बजारीकरण आवश्यक छ,’ उनले भने, ‘जडीबुटी र पर्यटनको माध्यमबाट रोजगारीे सिर्जना, आर्थिक क्रियाकलाप वृद्धि र समग्र प्रादेशिक आर्थिक विकासका लागि पहल भइरहेका छन् ।’
प्रतिक्रिया दनुहोस्