V
धनगढी– बाजुरामा बाघको आक्रमणबाट १७ वटा भेडाबाख्राको ज्यान गएको छ । जिल्लाको गौमुल गाउँपालिका– ३ दल्लेरीमा बाघले आक्रमण गर्दा स्थानीय मदन बोहराको गोठमा रहेका १७ वटा भेडाबाख्राको ज्यान गएको हो ।
आईतबार राती गोठको छानामा बाधेँर राखिएका भेडाबाख्राहरुमा बाघले आक्रमण गरेको बताईएको छ । गोठमा रहेका ५६ भेडाबाख्रामध्ये बाघले आक्रमण गर्दा ११ वटा भेडा र ६ वटा बाख्रा मरेको स्थानीय भरत बोहराले बताए ।
बिहान खेतीपातीका लागि गएका स्थानीय बोहराले मरेका, आधा खाएर छोडिएका र ५ वटा घाइते अवस्थामा रहेका पशु फेला पारेको जानकारी दिए । किसान मदन बोहराका अनुसार उक्त घटनाबाट झन्डै २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । भेडा–बाख्रालाई प्रमुख आयस्रोतको रूपमा प्रयोग गर्दै आएका उनले अबको जीविकोपार्जनमा समस्या परेको बताएका छन् ।
पछिल्ला दिनहरूमा बाघको लगातारको आक्रमणका कारण स्थानीयको भेडा पालन व्यवसाय सङ्कटमा परेको छ । यस प्रकारको जनावर आक्रमणले गाउँमा त्रास फैलिएको छ भने प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्