कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) सार्न नहुने भन्दै आन्दोलन चर्किँदै गएको छ । डीडीसी सार्न नहुने भन्दै स्थानीयले ४ दिन देखि कार्यालयमा ताला लगाएर आन्दोलनका कार्यक्रम गरिरहेका छन् । स्थानीयले दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समिति गठन गरेर बिहीबार (जेठ ८ गते) डीडीसीका कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । ४ दिन देखि तालाबन्दी हुँदा पनि न कार्यालय प्रमुखले ताला खुलाउन पहल गरेका छन् भने न स्थानीय सरकार र प्रहरी प्रशासनले चासो दिएको छ ।
स्थानीय भीम विकले डीडीसीलाई अत्तरियामा जग्गा उपलब्ध गराउन पहल भइरहेको भए पनि हाकिमले आफ्नो स्वार्थमा रातारात सार्ने कुरा गर्नु गलत भएको बताए । चाहना महिला सामुदायिक वनका अध्यक्ष समेत रहेका उनले नेपाल सरकारले चाहेमा हाल डीडीसी रहेको क्षेत्र सँगै जोडिएको चाहना महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय समेत गरिएको बताए । उनले डीडीसी अत्तरियामा स्थापना हुँदा सामुदायिक वनकै २०/२५ जना उपभोक्ताले रोजगारी पाएको बताए ।
स्थानीय राजु विकले २०६३ सालमै अत्तरिया उपयुक्त ठाउँ भएको भन्दै डीडीसी स्थापना गरिएको बताउँदै अहिले सार्न खोज्नुको कारण बुझ्न नसकिएको बताइन् । उनले डीडीसी रोक्नका लागि स्थानीय जनप्रतिनिधिले पनि चासो दिनुपर्ने बताइन् । ‘डीडीसीले यस क्षेत्रका २०/२५ जनालाई रोजगारी दिएको छ । यो अन्त्य गए ती विपन्न नागरिकको रोजीरोटी खोसिन्छ’ उनले भनिन् ‘यसलाई रोक्न नगरप्रमुखले चोसो दिनुपर्छ । हामी अब कुनै पनि हालतमा यसलाई अन्य ठाउँमा जान दिँदैनौ ।’
स्थानीय बुद्धि राम चौधरीले सुरुमा अत्तरियामा डीडीसी आफ्नो घरमा बसेको बताउँदै पछि फ्याक्ट्री विस्तार गर्न कृषि उपज थोक बजारमा आएको बताए । उनले १६ वर्ष देखि आफ्नै घरका कार्यालय प्रमुखको आवास रहे पनि अहिले आएका हाकिम (निरञ्जन भट्टराई) ले आवास पनि सारेर अन्य ठाउँमा लगेको बताए । ‘आवास सारे लगतै फ्याक्ट्री पनि सार्ने कुरा गर्नुभएको छ’ उनले भने ‘अहिले हामीले विरोध गर्दा वहाँ हराउनु भएको छ । यसले गाह्रो भएको छ ।’
दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसीलाई अत्तरियामा रोक्न माग गर्दै कृषि मन्त्री लगायतलाई जानकारी गराइएको बताउँदै डीडीसी अन्य ठाउँमा लग्न नपाइने बताए । उनले डीडीसी रोक्न आफूहरूले आन्दोलन गरे पनि कुनै निकायले चासो नदिएको बताए ।
‘हामीले ताला लगाएको ४ दिन भइसकेको छ । ताला खोल्नु प-यो भनेर अहिले कोही पनि आएको छैन । न कार्यालयका मान्छे आएका छन् । न पुलिस प्रशासन नै आएको छ’ उनले भने ‘यसलाई बसेर छलफल गरेर समाधान गरौँ भनेका छौ । हामीले जबसम्म सरकारले यो ठाउँबाट डीडीसी हटाउनौ भनेर नेपाल सरकारले बचनबद्ध गर्दैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले कृषि उपज थोक बजार बन्ने बेलै यसै भित्र डीडीसीको लागि पनि जग्गा छुट्याइएकाले त्यो जग्गामा अहिले कृषि उपज थोक बजारले भाडा लिइरहेको बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता एवम् जग्गा खोज्न बनेको कार्यदल समितिका संयोजक गोपाल दत्त भट्टले डीडीसीका कार्यालय प्रमुखले जग्गाका लागि कुरा गर्दा पुस महिना देखि जग्गा प्राप्तिको लागि लागेको बताए । उनले जग्गाका लागि प्रक्रिया अगाडि बढ्दै गर्दा कार्यालय प्रमुखले धनगढी सार्ने सम्झौता गरेको भनेपछि स्थानीय आक्रोशित भएको बताए । ‘हामीलाई जग्गा प्राप्तिमा लागिराख भन्ने आफू भित्र भित्रै गएर धनगढी सार्ने सम्झौता गर्ने दोहोरो चरित्र यहाँका हाकिमले गरे’ उनले भने ‘त्यसको विरुद्धमा यहाँका जनता आक्रोशित भएका छन् ।’ उनले आगामी आर्थिक वर्ष भित्र आफूहरूले जग्गा उपलब्ध गराइसक्ने बताउँदै तत्कालका लागि डीडीसी सञ्चालन गर्न कुनै समस्या भए आफूहरू सहजीकरण गर्न तयार रहेको बताए ।
उनले डीडीसीका लागि अत्तरियाका २÷३ ठाउँको जग्गा किटान गरेर नगरप्रमुखले कृषि मन्त्रालयमा पठाइसकेको बताए । ‘नगरपालिकाको भोगाधिकारको जग्गा नभएकाले यसको प्रक्रियामा केही समय त लाग्छ’ उनले भने ‘त्यति बेला सम्म डीडीसी नसार्न आग्रह गर्दछु ।’
प्रतिक्रिया दनुहोस्