राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको १५ औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णयअनुसार प्रतियोगिता सम्पन्न गर्न तयारी सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सञ्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकलाई जिम्मेवारी दिइएको छ । रनिङसिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन् ।
खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङसिल्डलाई भव्य रुपमा आयोजना गर्न परिषद्का सदस्यसचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।
पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरू केन्द्र तहको राष्ट्रपति रनिङसिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिए । प्रत्येक प्रदेशबाट ४९ छात्रा/४९ छात्र गरी ९८ गरी सात प्रदेशबाट ६ सय ८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन् ।
एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन् ।
प्रतिक्रिया दनुहोस्