साउदीमा ४६९ नेपाली श्रमिकले पाएनन् साढे १४ करोड तलब

 साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ (४० लाख ४ हजार रियाल) पाएका छैनन् । उनीहरू सेन्दान इन्टरनेसनल कम्पनी (भिसा स्पोन्सर) मार्फत साउदी आरम्कोको आयोजनामा काम गर्दै आएका थिए । रियादस्थित नेपाली दूतावासले ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ मार्फत उपलब्ध गराइदिन साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

साउदीको मानव संसाधन मन्त्रालयले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको छ । कार्यविधिमा रोजगारदाता टाट पल्टिनुभन्दा ६ महिनाअघिसम्म तलब नपाएबापत प्रतिश्रमिक १७ हजार ५ सय रियाल (करिब ६ लाख २१ हजार रुपैयाँ) र घरफिर्ती टिकटबापत एक हजार रियालसम्म दिनुपर्ने व्यवस्था छ । त्यसलाई नै आधार बनाएर दूतावासले नेपाली श्रमिकको बक्यौता तलब साउदी सरकारसँग दाबी गरेको हो ।

Seti Hospital

नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले बिमाबाट श्रमिकको बाँकी तलब पाउनेमा आशावादी भएको बताए । ‘श्रमिकको बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । छलफलले श्रमिक बिमाबाट तलब उपलब्ध हुनेमा सकारात्मक छौं,’ उप्रेतीले कान्तिपुरसँग भने । नेपाली श्रमिकले गत वर्षको अगस्टबाट नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न नपाएपछि उनीहरू गत मार्चदेखि काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् ।

संखुवासभाका बलराम राईका अनुसार कार्यस्थल (साइट) अनुसार तलबको बक्यौता फरक–फरक छ । ‘आरम्कोको फरक–फरक साइटमा काम गर्दै आएका थियौं । यहाँ साइटअनुसार तलब पाउने महिना पनि फरक–फरक छ । कसैले त १० महिना अगाडिदेखि नै पाएका छैनन् । धेरैजसो ८ महिनासम्मको तलब नपाउनेहरू छन्,’ उनले भने, ‘तलब कहिले, कसरी पाइन्छ वा पाइँदैन, थाहा छैन ।’ राईले मात्रै ओभरटाइम र उपदानबाहेक १२ हजार ८ सय रियाल (४ लाख ५४ हजार रुपैयाँ) पाउन बाँकी छ । आफूहरूले तलबका लागि श्रम कार्यालयमा एकमुष्ट उजुरी दिएको उनले बताए ।

उनले चर्को गर्मीमा दिनरात नभनी मिहिनेत गरेको प्रतिफल नियमित नपाउँदा दुःख लागेको बताए । ‘अहिले हामी दुई महिनादेखि कम्पनीको क्याम्पमा सुतेरै बसिरहेका छौं । हामीले दैनिक १२ घण्टा परिश्रम गर्‍यौं । खाडीको चर्को घाममा पसिना बगायौं,’ उनले भने, ‘आफ्नो ज्यान हत्केलामा राखेर परिश्रम गरेका थियौं । पसिनाको फल हामीले पाउनुपर्छ ।’

रोल्पाका कर्णबहादुर खत्रीले २३ महिना ग्यास प्लान्टमा काम गरेको बताए । ‘ग्यास प्लान्टमा स्काफफोल्डिङको काम थियो । त्यहाँ केजिवी भन्ने साइटमा काम गर्दा ग्यासको निकै गन्ध आउँथ्यो । त्यसले टाउको दुख्थ्यो । नयाँ प्लान्टमा काम गर्दा गन्ध भने आएन,’ उनले भने, ‘मैले काम थालेको १४ महिनासम्म तलब नियमित थियो । त्यसपछि तीन–चार महिना ढिलो हुँदै गयो । पुराना साथीले एकै पटक दिन्छ भन्थे । त्यही भएर तलब नपाए पनि काम गरिरहें । तर, जब साइट बन्द हुँदै गयो, कम्पनी त सबै टाट पल्टिसकेको रहेछ भन्ने थाहा भयो ।’

घरफिर्ती टिकट र ‘एक्जिट परमिट’ को प्रतीक्षामा बसिरहेका नेपाली श्रमिकहरूलाई कम्पनीले भात र दाल मात्रै दिइरहेको छ । दूतावासका अनुसार कामविहीन भएका मध्ये ३ सय २ जना नेपाल फर्किन चाहेका छन् भने बाँकी कम्पनी परिवर्तन गरी साउदीकै अर्को कम्पनीमा जाने प्रक्रियामा छन् । ‘स्वदेश फर्किन चाहेका ३ सय २ जनालाई एक्जिट परमिट जारी गर्न साउदीको श्रम मन्त्रालयलाई विवरण पठाइसकेका छौं,’ उप्रेतीले भने, ‘साउदीमै अर्को कम्पनीमा काम गर्न खोज्नेलाई रोजगारी परिवर्तनका लागि सहजीकरण भइरहेको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार