धनगढी : कैलारी गाउँपालिका र स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसालिटी अस्पताल प्रा.लि. धनगढीको संयुक्त आयोजना तथा नवजीवन सेवा संघको साझेदारीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४४६ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा हाडजोर्नी रोगका २३९ जना, सामान्य चिकित्सा सेवा १३६ जना, नाक, कान, घाँटी तथा थाइराइड समस्याका २८ जना, मिर्गौला तथा मूत्र प्रणालीसम्बन्धी २३ जना, जनरल ल्याप्रोस्कोपी सर्जन जाँचमा १२ जना, स्त्री रोग परामर्शमा १९ जना र भिडियो एक्स–रे सेवा ४० जनाले सेवा लिएका थिए।
स्वास्थ्य शिविरमा कैलारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर चौधरी प्रमुख अतिथिका रूपमा तथा स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले गरेका थिए।
धनगढी उपमहानगरपालिका–३ मा अवस्थित स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसालिटी अस्पताल प्रा.लि. सुदूरपश्चिम क्षेत्रकै एक अग्रणी निजी स्वास्थ्य संस्था हो। यो अस्पताल विशेषगरी मुटु रोग (कार्डियोलोजी), मिर्गौला रोग (नेफ्रोलोजी), नाक, कान, घाँटी (ENT), हाडजोर्नी तथा सर्जरी, स्त्री रोग, भिडियो एक्स–रे, ल्याब परीक्षण लगायत बहु–विषयगत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। विशेषज्ञ चिकित्सक टोली, अत्याधुनिक उपकरण र सेवामुखी दृष्टिकोणसहित अस्पतालले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा विस्तार गरिरहेको छ।
स्वास्थ्य सेवा पहुँच बढाउने उद्देश्यले आउँदो शनिबार कैलारी गाउँपालिका वडा नं. १ स्थित दिपेन्द्र माध्यमिक विद्यालयमा बृहत् स्वास्थ्य शिविर आयोजना गरिने आयोजक संस्थाहरूले जनाएका छन्।
प्रतिक्रिया दनुहोस्